बुटवल १४, साउन । बुटवलको साझा अस्पतालले सेवा विस्तार गर्दै आइसियू सुविधा थप गरेको छ । अस्पताल स्थापनाको दुई वर्षमै सेवा विस्तार गर्दै ४ बेडको आइसियू सुविधा र ५ बेडको एनआइसियू सुविधा थप गरेको छ । यो विस्तारसंगै अस्पतालमा ९ वटा आइसियू सहितको सुविधा विस्तार गरिएको छ ।
विहिबार अस्पतालमा थप गरिएको आइसियू सेवाको शुभारम्भ गर्दै अस्पतालका अध्यक्ष गाविन्द खनालले भदौको पहिलो हप्ता भित्र अस्पतालमा १० बेडको निशुल्क किड्नी डाइलासिस सुविधा विस्तार गर्ने जानकारी दिनु भयो । ६ करोड बढी लगानी रहेको अस्पतालले सरकारले निर्धारण गरेका मापदण्ड अनुसार ४० करोड लागतमा बुटवलमा सुविधा सम्पन्न सय बेडको अस्पताल निर्माणको प्रक्रिया समेत अगाडि बढेको अध्यक्ष खनालले बताउनु भयो ।
बुटवल ८ मा अवस्थित यस अस्पतालमा न्यूरो सर्जरी, ट्रमा सेवा, अर्थो, ल्याप्रोसकोपी सर्जरी, न्यूरो सर्जन, बाल सर्जन, जेनरल सर्जन, पेडियार्टिक, प्रसुती सेवा तथा टेस्ट ट्युव वेवी लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.लक्ष्मण शर्माले बताउनु भयो । शर्माका अनुसार ३ वर्ष भित्र भौतिक संरचना तयार पारी सेवा सञ्चालन गर्ने लक्ष्यसहित काम भैरहेको छ ।
सरकारले आगामी तीन वर्षभित्र अस्पताल संचालनको मापदण्ड अनुसार भौतिक पूर्वाधार तयार नगर्ने अस्पताललाई संचालनमा प्रतिवन्ध लगाउने नीति अख्तियार गरेकाले सोही अनुसार १ सय बेडको अस्पताल बनाउने गरि काम अगाडी बढेको अस्पताल प्रशासनले जनाएकोे छ ।