बुटवल, १४ साउन । पार्टी परिवर्तन गरेपछि पार्टीको कारवाहीमा सांसद पद गुमाएका लुम्बिनी प्रदेशका दुई सांसद अहिले अदालत पुगेका छन् । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पद गुमाएका प्रदेशसभाका तत्कालिन सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ । नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको बिधान विपरित आफुहरुलाइ प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै उहांहरुले सर्वोच्चमा निवेदन दिनुभएको हो ।
गत फागुन देखि नै नेकपा माओवादी छोडेर एमालेमा सक्रिय भएका पन्थी र न्यौपानेले अहिले भने आफुहरु माओवादीमै रहेको भन्दै सदस्य पद बचाइदिन सर्बोच्च अदलतमा अपिल गर्नुभएको छ ।
फागुन २३ मा सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा ल्याइदिएपछि न्यौपाने र पन्थी माओवादी छोडेर एमालेमा प्रवेश गर्नुभएको थियो । माओवादी छोडेर एमालेमा सक्रिय भएको भन्दै पार्टीले दुबैजनालाई कारवाही कारबाही गरेको थियो । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले दुवै जनालाइ प्रदेशसभा सदस्यबाट पदमुक्त गरिदिनु भएको थियो ।
न्यौपाने रुपन्देही क्षेत्र नं. १ ख र पन्थी गुल्मीको क्षेत्र नं. १ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । सर्वोच्च पुगेका न्यौपाने र पन्थीले नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेशसभा सचिवालय, सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाई निवेदन दिनुभएको छ । तत्कालिन अवस्थामा माओवादी केन्द्र र एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचन लडेको जिकीर गर्दै दुबै जना विधि विधान विपरित जनताका जनप्रतिनिधिलाइ हटाउन नपाइने दावी गर्दै सर्वोच्च पुगेका हुन् ।