बुटवल, १० साउन । नेपालका बिभिन्न जिल्लाबाट भारतमा रोजगारीको लागि जाने नेपालीहरुको संख्या धेरै छ । कतिपय घर सल्लाहले भारत जाने गरेका छन् भने कतिपय भागेर नै । बिशेषगरि युवाहरु भारत जाने क्रम बढ्दो रहे पनि अहिले नाबालकहरु पनि भारत पुग्ने गरेका छन् । अभिभावककै सल्लाहमा कतिपय बालबालिकाहरु बिभिन्न होटलमा काम गर्न भारत तर्फ जाने गरेका छन् । पछिल्लो पटक भारतमा अलपत्र परेका चार नावालकलाई उद्धार गरि नेपाल ल्याईएको छ ।
भारतमा बालबालिकाहरु बेचबिखन, उनीहरुको अङ्ग चोरी तथा भिख माग्ने लगायत बिभिन्न गैरकानूनी काममा फसेका हुन्छन् । विश्वका धेरै जनसंख्याहुने देशहरु मध्येको एक भारतमा यस्ता गैरकानूनी कार्यमा लाखौ बालबालिका फसे पनि नेपालका चार जना बालबालिका भाग्यमानी रहेका छन् । भाग्यमानी यस अर्थमा कि भारतमा यस्ता लाखौं बालबालिका यातनाको जिवन गुजारी रहदा उनीहरु सकुशल नेपाल फिर्ता हुन सफल भएका छन् ।
बैतडीका १५ वर्षीय प्रकाश सिंह महरा, बाँके कोहलपुरका ९ वर्षीय रोशन बादी, ७ वर्षीय बिशाल बादी र ५ वर्षीय पुजा बादी घरबाट भागेर भारत पुगेका थिए । प्रकाश पैदल नै भारत पुगेका थिए भने कोहलपुरका ३ जना बालबालिका ट्रकको सहायतामा भारत पुगेका थिए । गलत ब्यक्तिको सम्पर्कमा पुग्नु अघि नै भारतको सामाजिक संस्थाले उनीहरुलाई बाल आश्रममा राखेका थिए ।
यसरी बालआश्रममा रहेका उनीहरु चारै जनालाई प्रवासी नेपाली मित्र मञ्च भारत र मानव कल्याण मित्र मञ्च नेपालको सहयोगमा उद्धार गरी नेपाल फिर्ता ल्याईएको छ ।
चार बालबालिका मध्ये ३ जनालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा कोहलपुर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष तिरथराम थारु मार्फत् आफन्तको जिम्मा लगाइएको छ । बैतडीका प्रकाश सिंहलाई भने केही दिनका लागि रुपन्देहीको कोटिहवास्थित बालगृहमा राखिएको छ ।
६ महिना अघि कोहलपुर नाकाबाट भारत घुम्न र कमाउन भनि हिँडेका चारै जना बालबालिकालाई भारतको बरेलीबाट उद्वार गरिएको हो । नेपाली राजदूतावास दिल्लीबाट अनुमति पत्र प्राप्त गरी उत्तर प्रदेशको बरेली न्यायपीठ बाल कल्याण समितिको आदेशबाट उनीहरुलाई आर्य समाज अनाथालयको संरक्षणमा राखिएको र सोही स्थानबाट नेपाल ल्याईएको प्रवासी नेपाली मित्र मञ्चका महासचिव रघुनाथ पाण्डेले जानकारी दिनुभयो ।
भारतमा यसरी भेटिने कैयौं बालबालिका दलालमार्फत् पनि जाने गरेका छन् भने कतिपय पारिवारिक आर्थिक समस्याका कारण रोजगारीका लागि जाने गरेका छन् । यसरी जाँदा उनीहरु ठूलो जोखिममा पर्ने गरेका छन् ।
मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बिभिन्न प्रलोभनमा परेर नेपाली बालबालिकाहरु भारत जाने गरेको बताउनुभयो । यस्ता कतिपय बालबालिकाहरुको उद्धार गरी नेपाल फिर्ता ल्याईए पनि अझै पनि धेरै बालबालिका भारतमै रहेको उहांले बताउनु भयो ।
गरिबीको कारण र रोजगारीको कारण नेपालीहरु भारत जाने गरेको भए पनि बालबालिकाहरु भारत जानुले नकारात्मक सन्देश फैलाएको प्रवासी नेपाली मित्र मञ्चकी महिला अध्यक्ष अनिता क्षेत्रीको भनाई छ । भारतमा रोजगारी यति सजिलै नपाईने भएको र भारतमा पाईने नारकिय यातना बारे जनचेतना फैलाउनु आवश्यक रहेको उहांले बताउनु भयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अलपत्र बालबालिकाको उद्धार गरेर मित्र मञ्चले मानवीय सेवामा ठूलो भूमिका निभाएको बताउनु भयो । ‘यहाँहरुले ठूलो पुण्यको काम गर्नुभएको छ । हाम्रा कलिला बालबालिका जोखिमबाट बचेका छन्, प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो । प्रवासी मित्र मञ्चले अहिलेसम्म भारतमा अलपत्र परेका दुई हजार बढी बालबालिकाको उद्धार गरिसकेको छ ।
