कावासोती, ९ साउन । पूर्वी नवलपरासीमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार उद्घाटन गरेको छ । शनिबार माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान शर्मा गैरेले कावासोतीमा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।
नेकपा एमालेसंग पार्टी एकता भएपछि एकै ठाउँबाट पार्टी कार्यालय सञ्चालनमा आए पनि पार्टी विभाजन पछि माओवादी केन्द्रले आफ्नो पुरानै कार्यालय रहेको घरमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको हो ।
माओवादी केन्द्रका जिल्ला सचिव मित्रशरण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य शर्माले नेपाली कम्युनिष्ट आन्दोलन यति बेला जटिल अवस्थामा आएको बताउँदै पुन ईमान्दार कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताउनुभयो ।
यसैबीच नेकपा माओवादी केन्द्रले शनिबार नै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको आठौं स्मृति कार्यक्रम कावासोतीमा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुरको आयोजनामा कार्यक्रम भएको हो ।