बुटवल, ७ साउन । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही जिल्लाको सियारी गाउँपालिका स्थित पश्चिम अमुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खाँणले पठाएको स्वास्थ्य सामग्रीहरू बिहीबार रुपन्देही काँग्रेसका सचिव तथा अन्य नेताहरूले स्वास्थ्य चौकीमा हस्तान्तरण गरेका छन् । पश्चिम अमुवाको स्वास्थ्य चौकी कोरोनाको अस्थायी अस्पताल पनि हो ।
गृह मन्त्री खाँणले स्वास्थ्य चौकीलाई १ थान अक्सिजन कन्सन्ट्रेटर, २२ थान पीपीई सेट, ४० लिटर सेनिटाइजर, २ थान पल्स अक्सिमिटर, ४ बक्स सर्जिकल मास्क, २ बक्स पञ्जा, ६ पोका अक्सिजन पाइप, १० थान फेस शिल्ड, २ जोर बुट, चार थान बेड सेट लगायतका सामग्रीहरू उपलब्ध गराएको स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र रिजालले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य सामग्री नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले गाउँपालिका अध्यक्ष अयोध्या थारु र वडा न.७ का वडा सदस्य विनोद साहनी लाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै जिल्ला सचिव रामकृष्ण खाँणले कोरोना महामारीको विकराल अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर स्वास्थ्यकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
सबै सजग र सतर्क भएमा मात्र कोरोनाबाट बच्न सकिने भन्दै उहांले आगामी दिनमा पनि स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराईने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा चौधरीले अस्थायी कोरोना अस्पतालले विषम परिस्थितिमा सिमित स्रोत साधन र जनशक्तिका विचमा पनि जनमानसमा प्रभावकारी स्वास्थ्य सेवा दिएकोमा सबै स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले कोरोना रोकथामका लागि स्थानीय निकायले विभिन्न गतिविधिहरु गर्दै आएको जानकारी गराउनु भयो । अमवा स्वास्थ्य चौकीमा गत बैशाख १४ गते देखि (कोभीड १९) अस्थायी अस्पतालको रुपमा संचालनमा आएको जानकारी गराउंदै अध्यक्ष थारुले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा गृह मन्त्री खाँणलाई धन्यवाद ज्ञापन गर्दै मन्त्री भएकोमा बधाई ज्ञापन गर्नुभयो ।
वडा नं – ७ का वडा सदस्य विनोद साहनीको अध्यक्षतामा भएको कार्यक्रममा शुद्धोधन गाउँपालिका वडा नं – २ का वडा अध्यक्ष विष्णु बस्याल, अमवा स्वास्थ्य चौकीका इन्चार्ज तथा (कोभिड १९) अस्थायी अस्पतालका संयोजक दीपेन्द्र रिजालगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।
नेपाली काँग्रेसका नेता खाँणले आफ्नो निर्वाचन क्षेत्रका जनताको स्वास्थ्यको ख्याल गर्दै विभिन्न स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्रीहरू पठाउँदै आउनुभएको छ । यस अघि पनि मन्त्री खाँणले रुपन्देही जिल्लाका अस्पतालदेखि विभिन्न स्वास्थ्य संस्थाहरूलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिसक्नुभएको छ ।
