तिलोत्तमा, ७ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरुलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरेको छ । पछिल्लो समय आरन व्यवसाय लोप हुँदै गएकोले ब्यवसायको संरक्षण र त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले ब्यवसायमा संलग्न ब्यवसायीहरुलाई विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको हो ।
कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवापुर्याउने उद्देश्यले नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु उपलब्ध गराएको नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो । नगरपालिकाले वडा कार्यालयको सिफारिसको आधारमा बुधबार आठ जना आरन व्यवसायीलाई औजार तथा उपकरणहरु प्रदान गरेको हो । त्यस अवसरमा नगर उप–प्रमुख चौधरीले प्राप्त उपकरणको उपयोग गरी आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
व्यवसायीको मागको आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको उत्थान, विकास र सशक्तिकरणका अन्य कार्यक्रमहरु सञ्चालन गरिने प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । उहाँले परम्परागत पेशाको संरक्षणसँगै यो पेशा–व्यवसायबाट पनि पर्याप्त आयआर्जन गर्न सकिने हुँदा नगर क्षेत्रका आरन व्यवसायीलाई नमूनाको रुपमा अघि बढाउन चाहेको बताउनुभयो ।
नगरपालिकाले व्यवसायीलाई ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डर लगायतका औजार प्रदान गरेको हो । पुर्खौंदेखि आरनको कामगर्दै आएपनि हालसम्म राज्यस्तरबाट कुनै पनि सहयोग प्राप्त नभएको अवस्थामा अहिले नगरपालिकाले औजार तथा उपकरण प्रदान गर्दा आफूहरु निकै उत्साहित भएको वडा नं. ११ का कृष्णबहादुर विश्वकर्माले बताउनुभयो ।
कार्यपालिका सदस्य एच. बि. रम्तेलले आधुनिक उपकरण नहुँदा आरन व्यवसाय संकटमा पर्दै गएको पाइएपछि युवाहरुलाई समेत यो पेशामा आकर्षण बढाउन नगरपालिकाले उपकरणमा सहयोग गरेको बताउनुभयो ।
एक दशक अघिसम्म प्रायःगाउँमा रहेका आरन व्यवसायीहरु पछिल्लो पटक घट्दै गएका छन् । तिलोत्तमा नगरपालिकामा हाल २० जना आरन व्यवसायमा संलग्न रहेको अनुमान छ ।
