तिलोत्तमा, ५ साउन । नेकपा एमाले तिलोत्तमा नगर कमिटीले यही साउन १५ गतेभित्र संगठित सदस्यता नविकरण गर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ । नगर कमिटीको मंगलबार बसेको बैठकले सदस्यता नविकरणका लागि नगरका १७ वटै वडामा कार्यदल बनाउँदै १५ गतेभित्र नविकरण सक्न भनेको हो ।
यसका लागि सबै वडामा जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुले समन्वय गर्ने निर्णय पनि बैठकले गरेको एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले जानकारी दिनुभयो । बदलिंदो अवस्थामा एमाले तत्कालीन नेकपाको नयाँ स्वरुपमा पुनर्गठित भएको र यसैलाई आत्मसाथ गर्दै सदस्यता नविकरणमा केन्द्रित हुन पनि बैठकले सम्बद्ध सबैलाई आह्वान गरेको उहांले बताउनु भयो । बैठकलाई संबोधन गर्दै पार्टीका रुपन्देही जिल्ला संयोजक शिवराज सुवेदीले मुलुकको विद्यमान समसामयिक राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । केन्द्रमा विवाद भएपनि त्यसको असर जनतामा नपरेको र जनतामा एमाले एक ढिक्का रहेको भन्दै उहांले जनभावना अनुसार अघि बढ्न पार्टी पंक्ति सदा तत्पर रहेको बताउनु भयो । बैठकमा जिल्ला कमिटीका सहसंयोजक तेजेन्द्र केसी, सचिव विश्वराज बराल, पार्टी नेताहरु यज्ञ गैरे, वासुदेव घिमिरे, श्याम खरेल, बुद्धिसागर भट्टराई, ज्येष्ठ कम्युनिष्ट मन्चका लुम्बिनी प्रदेश अध्यक्ष अर्जुन ज्ञवाली, एमाले तिलोत्तमा नगर सचिव मिनप्रसाद पोखरेल लगायतले संगठित सदस्यता नविकरणसँगै पार्टी जनतामाझ जानुपर्ने र आगामी निर्वाचनको तयारीमा समेत जुट्नुपर्नेमा जोड दिनुभएको थियो ।