कपिलवस्तु, ३ साउन । कपिलवस्तु प्रहरीले अबैधरुपमा भारतबाट नेपाल ल्याउंदै गरेको अवस्थामा ५ थान ल्यापटप र चार्जर सहित दुई जनालाई पक्राउ गरेको छ । यही साउन १ गते जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं. ८ हरिवंशापुर स्थित नेपाल भारत सिमा नजिकै भारतबाट नेपालतर्फ अवैध रुपमा ल्यापटप ल्याउदै गरेको अवस्थामा जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.९ थानकोट वस्ने बर्ष २२ को कृष्ण शाही र जिल्ला सप्तरी महादेव गाउँपालिका वडा नं .५ भगवानपुर वस्ने बर्ष २० को नवनारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट लेनेभो आर १५ मोडलका ५ थान ल्यापटप र सोमा लाग्ने चार्जर बरामद गरी थप कारवाहीको लागि आज भन्सार कार्यालय सुठौली पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
यस्तै प्रहरीले चोरीको मोटरसाइकल सहित १ जनालाई पक्राउ गरेको छ । साउन १ गते जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.१ गौढीचोक स्थित सडकमा प्रहरीले मोटरसाईकलहरु चेकजाँच गर्ने क्रममा कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं.५ लोहरौली बस्ने वर्ष २१ को तौफिक पठानलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो । निज पठानले चलाएको मोटरसाईकल चेकजाँच गर्दा कागजपत्र नभएपछि प्रहरीले पठान लाई मोटरसाईकल सहित पक्राउ गरेको हो । उक्त मोटरसाईकल कपिलवस्तु नगरपालिका वडा नं. १ नयांटोल बस्ने मोहम्मद वाजिह अरसदको बा ७२ प ६३११ नं. को १५० सिसि बजाज पल्सर मोटरसाईकल संग मिलेको हुंदा पठानलाई नियन्त्रणमा लिई चोरी मुद्धामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अरसदले गत जेठ २४ गते आफ्नो मोटरसाईकल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन दिएका थिए ।