भैरहवा, ३ साउन । रुपन्देही प्रहरीले मोटरसाईकल चोरी कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरु संगै प्रहरीले चोरी भएका चार वटा मोटर साइकल समेत बरामद गरेको छ ।
यही साउन २ गते विहान २ बजेको समयमा जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ बालापुर बस्ने प्रदिप गुप्ताले आफ्नो लु ६३ प ४२२० नं.को मोटरसाईकल चोरी भएको भनि प्रहरी कार्यालयमा निवेदन दिएको र खोजतलास गर्ने क्रममा चोरी कार्यमा संलग्न ती जनालाई नवलपरासीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला नवलपरासी प्रतापुर गाउँपालिका वडा नं.१ जमुनिया बस्ने दिपक थारुको घरमा लुकाई छिपाई राखेको अबस्थामा चोरी भएको गुप्ताको मोटरसाईकल संगै लु ४४ प ८१९५, लु ४२ प ४६ र लु ४२ प ५६०७ नं.को मोटरसाईकल समेत फेला पारेको थियो ।
प्रहरीले मोटरसाईकल चोरी कार्यमा संलग्न रहेको आरोपमा जिल्ला नवलपरासी प्रतापुर गाउँपालिका वडा नं.१ जमुनिया बस्ने बर्ष ३५ को दिपक थारु, सोही गाउँपालिका वडा नं.२ बस्ने बर्ष २० को खिरि नारायण थारु र सरावल गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३० को खेम नारायण थारुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान पश्चात साउन २ गते बाटै लागु हुने गरी आज रुपन्देही जिल्ला अदालतबाट चोरी मुद्धामा ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
