भैरहवा, ३ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सेवाग्राहीहरुलाई प्रहरी कार्यालयबाट प्रदान गरिने सबै किसिमका सेवाहरुलाई एकिकृत रुपमा प्रवाह गर्न प्रबिधि सहितको एकिकृत नागरिक सेवा संचालनमा ल्याएको छ । सेवा लिनका लागि सेवाग्राहीहरुलाई सहज र सरल होस भन्ने हेतुले नयाँ सफ्टवेयर निर्माण गरी एकिकृत नागरिक सेवा कार्यक्रम संचालनमा ल्याइएको हो ।
एकिकृत नागरिक सेवा कार्यक्रम लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्दराज आचार्यले आज एक कार्यक्रमका विच शुभारम्भ गरेसंगै कार्यान्वयनमा आएको छ ।
एकिकृत सेवा सञ्चालन पश्चात सेवाग्राहीले प्रहरी गेटबाट सेवा प्राप्त गर्ने र सेवाग्राही सम्बन्धित शाखामा पुग्नु अगावै सेवा सम्बन्धि जानकारी सम्बन्धित प्रहरी कर्मचारीले प्राप्त गर्ने र सेवाग्राहीले कति समयमा सेवा प्राप्त गरेको समेत अभिलेखिकरण हुने गरी सफ्टवेयर निर्माण भएको रुपन्देही प्रहरीले जनाएको छ । यसबाट सेवाग्राहीको प्रतिकृया समेत अन्लाईन मार्फत प्राप्त हुने र यसबाट नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तरमा बृद्धि हुने अपेक्षा प्रहरीले गरेको छ । यसैविच सिद्धार्थनगर नगरपालिका वडा नं.१ बाईपासमा प्रहरी कर्मचारीहरुलाई डिउटीमा सहजताको लागि निर्माण गरिएको प्रबिधियूक्त आधुनिक प्रहरी चेक प्वाईन्टको समेत प्रहरी नायव महानिरीक्षक आचार्यले आजै उद्घाटन गर्नुभएको छ ।
