बुटवल, ३ साउन । बुटवलका विभिन्न संघ संस्थाहरुले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १०३ वटा ट्राफिक संकेतसहितका बोर्ड प्रदान गरेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा आज एक कार्यक्रमको आयोजना गरी विभिन्न संस्थाहरुले बुटवलको ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि ट्राफिक संकेतसहितका वोर्ड हस्तान्तरण गरेका हुन् ।
यसका लागि बुटवल अमरबुद्ध टोलविकास संस्थाले २१ वटा, विपी चोक टोल विकास संस्थाले १० वटा, अमर तिनाउ टोल विकास संस्थाले १५ वटा, राममन्दिर टोल विकास संस्थाले १५ वटा, शोनी सोरुम अमरपथले १५ वटा, सिद्धार्थ हार्डवयरले १६ वटा र द फेन्सी स्पोर्टले १६ वटा पार्किङ बोर्ड प्रदान गरेका छन् ।
ट्राफिक एवं पार्किङ व्यवस्थापन संकेत बोर्ड हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापाले बुटवल उपमहानगरपालिकाको ट्राफिक व्यवस्थापनका लागि ब्यवस्थित र थप कडाईका साथ लाग्ने बताउनु भयो । बढ्दो जनसंख्या र शहरीकरणलाई मध्यनजर गरी व्यवस्थापनलाई थप कडा गर्न लागिएकाले यसमा सबैको साथ र सहयोगको जरुरी रहेको उहांले बताउनु भयो । प्रहरी उपरीक्षक थापाले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रहरीको मात्र भूमिकाले असम्भव हुने भएकाले सबैको क्षेत्रको भूमिका महत्वपुर्ण हुने भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बुटवल उपमहानगरका विभिन्न १२ ठाउँमा राखिएका सिसिटिभी क्यामेराहरु हाल बन्द रहँदा ट्राफिक व्यवस्थामा समस्या हुनुका साथै सुरक्षा प्रदानमा समेत समस्या परेको बताउनु भयो । उहांका अनुसार बन्द भएका क्यामेराहरु पुनः सञ्चालनमा ल्याउनका लागि करिब ५ लाख लागत अनुमान गरिएको छ ।