पाल्पा, २ साउन । पाल्पाको तिनाउ गाउँपालिका डुम्रेमा गएको पहिरोमा पुरिएर एक युवाको ज्यान गएको छ । शुक्रबारराती तिनाउ गाउँपालिका–६ डुम्रे स्थित भित्री कच्ची सडकमा बाटो माथिबाट खसेको पहिरोमा पुरिएर बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका–२ अस्मेरीका २७ वर्षीय महेन्द्र भनिने मुमलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर घाईते भएका पुनको उपचारका क्रममा पाल्पा तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फसेपछि लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसिबीले निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिएका थिए । ट्याक्टर र जेसिबी पहिरोमा पुरिंदा लु १ क २४९६ नम्बरको जेसिबी चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते बुढाको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ ।
