बुटवल, ३१ असार । लुम्बिनी प्रदेश सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । असार मसान्त भित्र बजेट प्रदेशसभाबाट पास गराएर साउन १ गतेबाट कार्यान्वयनमा जानुपर्नेमा आजको बैठकबाट बजेट पास हुन नसकेपछि लुम्बिनी प्रदेशको बजेट नै अलपत्र परेको छ भने सरकार बजेट पास गराउन असफल भएको छ । सत्तापक्षले नै बैठक बहिस्कार गरेपछि सदन समेत रोकिएको छ ।
लुम्बिनी प्रदेशसभामा सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेपछि बजेट अलपत्र परेको हो । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मन्त्री र मुख्यमन्त्रीबाट जवाफ समेत दिईसकेपछि मतदान प्रक्रिया शुरु हुनै लागेका बेला सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेर बाहिरिएको थियो । आजको कार्यसूचि अनुसार प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शँकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सदन रोकिएको हो ।
बजेट पारित गर्न सरकारलाई मत नपुग्ने देखिएपछि सत्तापक्ष एमालेका सांसदहरु बैठकबाट बाहिरिएका हुन् । मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्तापक्षका सांसद योजनाबद्ध रूपमा बैठक छाडेर बाहिरिएका हुन् ।
सत्तापक्ष सदनबाट बाहिरिइ पछि सभामुख पूर्णबहादुर घर्तीले साढे ५ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको थियो । तर त्यो बैठक बसेन र सूचना टाँसेर शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको छ । त्यसअघि बजेटबारे सहमतिका लागि सभामुख घर्तीलले भोलि ११ बजे प्रदेशसभामा भएका सबै राजनीतिक दलको बैठक बोलाउनु भएको छ । तर सहमतिको सम्भावना भने कम छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शँकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेपाली काँग्रेस। नेकपा (माओवादी केन्द्र), जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद छन् भने विपक्षमा कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै छन् ।
