बुटवल । सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनःस्थापनाको स्वागत गर्दै रुपन्देहीका विभिन्न ठाउंमा दीप प्रज्वलन गरीएको छ । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले विघटन गर्नुभएको प्रतिनिधि सभाको पुनस्र्थापना गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाइ नियुक्त गर्न राष्ट्रपति कार्यालयलाइ परमादेश जारी गरेको थियो । सर्वोच्चको सोही निर्णयको स्वागत गर्दै विपक्षी गठबन्धनमा रहेका दलहरुले रुपन्देहीको बुटवल ट्राफिक चोक र तिलोत्तमाको शँकरनगर चोकमा दीप प्रज्वलन गरेका हुन । बुटवलमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरुले सर्बोच्चको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन् ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभा संसदिय दलका नेता कुलप्रसाद केसीले सर्वोच्च अदालतको निर्णयले प्रतिगमन परास्त भएको बताउनु भयो । उहांले केपी ओलीको अहंकार र सर्बसत्ताबादी चरित्रकै कारण मुलुक अस्थिरता तर्फ धकेलिन खोजेको बताउनु भयो । नेता केसीले ओली प्रबृत्ति देश र जनताकालागि कति घातक रहेछ भन्ने पुष्टि भइसकेकाले अव ओली बढारिने दावी गर्नुभयो ।
नेपाली काँग्रेसका प्रदेश सांसद तथा लुम्बिनी प्रदेशसभाको सार्बजनिक लेखा समिति सभापति डिल्ली चौधरीले सर्वोच्च अदालतले संविधान, संसद र लोकतान्त्रिक प्रजातन्त्रको रक्षा गरेको बताउनु भयो । ओलीको प्रतिगमन, निरकुंशता र सर्बसत्ताबादलाई सर्वोच्चको ऐतिहासिक फैसलाले परास्त गरिदिएको भन्दै सांसद चौधरीले न्यायप्रतिको जनताको विश्वासलाई समेत सार्वोच्च अदालतले कायम राखेको उल्लेख गर्नुभयो ।
जनता सामाजवादी पार्टी लुम्बिनीका सचिव यज्ञ पोखरेलले संविधानको रक्षा गर्दै केपी ओलीको प्रतिगमनलाइ सर्वोच्चले परास्त गरिदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मात्रै नभई राष्ट्रपति बिद्यादेवि भण्डारीले पनि तत्काल नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताउनु भयो । राप्रपा रुपन्देहीका जिल्ला सचिव तानबहादुर जिसीले पनि ओलीको प्रीतगमन केही सच्चिएपनि चुनौतीहरु अझै बाँकी रहेको भन्दै सबै दलहरु एक ठाँउमा उभिनु पर्नेमा जोड दिनुभयो ।
प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाइ सर्वोच्चले जारी गरेको परमादेशको स्वागत गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले रुपन्देहीकै तिलोत्तमा नगरपालिकाको शँकरनगर चोकमा दीप प्रज्वलन गरे ।
