बुटवल, २३ असार । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको चरचरेमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा परी टिप्पर चालकको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । चुनढुँगा लिएर बुटवल तर्फ आईरहेको लु २ ख ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक पाल्पा पूर्वखोला गाँउपालिका ५ बिरकोटका २६ वर्षिय सुदिप गैरेको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाईते भएका चालक गैरेलाई उद्धार गरी उपचारका लागि पाल्पा तानसेनको पर्वास स्थित लुम्बिनी मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले गाडीमा चालक मात्र थिए वा अरु पनि थिए भन्ने बिषयमा खोजतलास भईरहेको बताउनुभयो । टिप्पर सडकबाट चिप्लिएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।