आइतबार लुम्बिनीका १२ जिल्लामा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईदै
बुटवल, १९ असार । लुम्बिनी प्रदेश सरकारले संसदमा पठाएको सञ्चार विधेयक स्वतन्त्र प्रेस विरोधी रहेको भन्दै पुनर्लेखनका लागि नेपाल पत्रकार महासंघले आन्दोलन शुरु गरेको छ । सरोकारवाला पक्षसंग गहन छलफल नगरी निरंकुशशैलीको सञ्चार विधेयक प्रदेश सरकारले अघि बढाएको भन्दै महासंघले पहिलो चरणको आन्दोलन शुरु गरेको हो ।
यस अघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेरै विधेयक पुनर्लेखनको वातावरण अघि बढाउन माग गरेपनि सुनुवाई नभएपछि आन्दोलनको तयारीमा लागेको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले बताउनुभयो । उहांले संवैधानिक हकअधिकारसमेत कुण्ठित गर्ने गरि कानुन निर्माणको प्रयास भएकोले त्यसका विरुद्ध महासंघ आन्दोलनमा जानुको विकल्प नभएको बताउनु भयो । ‘पत्रकारहरुकै कलम रोक्ने आशयले विधेयक आएको महसुस भएको छ, त्यसकारण यो खारेज गरेर पुनर्लेखनको वातावरणका लागि हाम्रो आन्दोलन हो ।’ अध्यक्ष गिरीले भन्नुभयो– ‘समाचार लेखेकै भरमा जेल संजाय देखि डण्डजरिवाना राखेर शाही शासनको झल्को दिने गरि कानुन निर्माणको प्रयास गर्नु गंभिर आपत्तीको विषय भएकोले यसका विरुद्ध आवाज उठाउन सम्वद्ध सबैलाई आग्रह गर्दछु ।’
पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आह्वानमा आईतवार लुम्विनी प्रदेशका १२ जिल्लामै विरोधका कार्यक्रम शुरु हुने भएका छन् । पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री शंकर पोख्रेललाई विरोधस्वरुप ज्ञापन पत्र बुझाईने महासघका महासचिव विक्रम खड्काले बताउनु भयो । उहांका अनुसार आईतवार ११ वजे ११ जिल्लामा पत्रकार महासंघ जिल्ला शाखाको नेतृत्वमा र रुकुम पुर्वमा त्यहां रहेका पत्रकार सम्वध संघ संगठनका प्रमुखहरुको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईने छ ।
रुपन्देही जिल्ला शाखाले भने मुख्यमन्त्री पोख्रेललाई नै ज्ञापन पत्र बुझाउने भएको छ । कार्यक्रममा सहभागि हुन महासंघले जिल्लाका अगुवा पत्रकाहरु, संघ संगठनका प्रतिनिधिहरु र आम सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । पहिलो चरणको कार्यक्रमपछि पनि सराकारले संवेदशिलता नदेखाएमा त्यसका विरुद्ध अझै कडा खालका आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने महासंघको तयारी रहेको छ ।
प्रदेश सरकारले तयार गरेको सञ्चार माध्यम सम्वन्धी उक्त विधेयक प्रदेश सभामा पठाएको छ । जसमा गंभिर खालका व्यवस्थाहरु राखिएको भन्दै सर्वत्र आलोचना भैरहेको छ । पत्रकारहरुलाई कानुनको डण्डा देखाएर स्वार्थपुर्तिको सपना कसैले देखेको भए त्यो पुरा नहुने नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले बताउनु भयो । लुम्बिनीको सञ्चार विधेयकका विषयमा नेपाल पत्रकार महासंघ निकै गंभिर रहेको भन्दै त्यसका विरुद्ध आन्दोलनको विकल्प नभएको उहांले बताउनु भयो । यो विषयमा नेपाल पत्रकार महासंघ लुम्बिनीले पटक पटक सरोकारवालाहरुसंग भर्चुवल र भौतिक रुपमै पनि कार्यक्रम चलाउदै आएको छ ।
