देवदह, १९ असार । रुपन्देहीको देवदह नगरपालिकाले कृषि उत्पादन लागत घटाउन र उत्पादन बढाउनको लागि प्रविधिको प्रयोगमा अनुदानको नीति अख्तियार गरेको छ । नगरपालिकाले कृषिमा यान्त्रिकिकरणलाई प्रवद्र्धन गर्नुको साथै यान्त्रिकिकरणका माध्यमबाट उत्पादन लागत घटाउने र उत्पादन बढाउने नीति लिएको नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।
कृषिमा चक्लाबन्दिको नीति अख्तियार गरेको नगरपालिकाले चक्लाबन्दि गर्दा उपकरणको प्रयोगमा अनुदानको व्यबस्था गरेको छ । ‘कृषि उपकरण हलोको ठाउँमा ट्याक्टर आयो, धान गहुँ काट्न कम्पाईन मेसिन आयो, उपकरणले सहज त बनायो ।’ नगर प्रमुख खत्रीले भन्नुभयो–‘तर उत्पादन लागत कम गर्न र उत्पादन बढाउन सकिएन ।’
सानो सानो प्लटमा ठूला उपकरणको प्रयोगले उत्पादन लागत घटाउन र उत्पादन समेत बढाउन नसकिएको कारण नगरपालिकाले कृषिमा चक्लाबन्दिको नीति लिएको हो । जमिनको चक्लाबन्दिको लागि नगरपालिकाले अहिले दुई वटा ‘लेजर लेवलर’ मेसिन समेत ल्याएको छ भने जमिनको चक्लाबन्दि गर्ने किसानलाई प्रति विगाहा १० हजार रुपैयाँ अनुदानको व्यबस्था समेत गरेको छ ।
कम्युप्टरबाट मोनिटरिङ् हुने ‘लेजर लेवलर’ले जमिनको सबै भू–भाग बराबर लेवलमा मिलाउने हुनाले सबै भागमा समान सिंचाई हुन्छ । चक्लाबन्दिमा यान्त्रिकिकरणको प्रयोगले तुलनात्मक रुपमा समय समेत कम लाग्ने र लागत स्वत : कम लाग्ने तथा त्यसका माध्यमबाट उत्पादन समेत बढाउन सकिने प्रमुख खत्रीले बताउनु भयो ।
नगरपालिकाले कृषिलाई प्राथमिकता दिँदै प्रवद्र्धनका कार्यक्रम ल्याएको हो । ‘कृषिमा यान्त्रिकिकरणको प्रयोगबाट लागत घटाउन र उत्पादन बढाउन सोही अनुसार भूमिको व्यबस्थापन पनि आवश्यक पर्ने र कृषिमा उपकरणको प्रयोग गर्दा सजिलो र सस्तो पनि हुनुपर्यो । नगर प्रमुख खत्रीले भन्नुभयो –‘तर अहिलेकै अवस्थामा त्यो त्यति सम्भव देखिँदैन । खेतको डिजाईन पनि मिलेको छैन भने खेतको आकार पनि ठूलो बनाउनु पर्ने आवश्यक्ता छ । त्यसैको लागि नगरपालिकाले लेजर लेबलर मेसिन भित्र्याएको हो ।’
देवदह नगरपालिकामा अहिले कृषिमा यान्त्रिकिकरणको प्रयोग बढ्दै गएको छ । नगरभित्र अहिले मेसिनको प्रयोगबाट धान रोप्ने काम समेत सुरु गरिएको छ । उक्त मेसिन देवदहको उन्नति एग्रो फर्मले भित्र्याएको हो । धानरोप्ने मेसिन ‘एफआरआई’ बाट धान रोप्न सुरुवात गर्दै नगरप्रमुख खत्रीले लेजर लेवलरमा प्रति विगाहमा १० हजार अनुदान दिने घोषणा गर्नुभएको हो । यो मेसिनले एक पटकमा चारलाईन धान रोप्छ । उक्त मेसिनबाट एक घण्टामा १० कठ्ठासम्म धान रोप्न सकिने उन्नति एग्रो फार्मका सञ्चालक भेषराज पाण्डेले बताउनु भयो । उहाँका अनुसार त्यसको लागि धानको व्याड राख्ने पद्धति छुट्टै हुन्छ । त्यस्तै धानको बिउ सरदर १५ दिनको हुँदा रोप्नुपर्छ ।
यसरी धान रोप्दा धानले गाँज पनि बढी हाल्ने र बाला पनि लामो हुने उहाँले बताउनु भयो । यो प्रविधिबाट धान रोप्दा डेढ देखि दुई गुणा बढी उत्पादन हुने पाण्डेले बताउनु भयो । खेतको आकार ठूलो बनाउने र सम्मो मिलेको बनाउने हो भने पानीको सिंचाई, मलखाद, सबै कुरा सबै ठाउँमा समान रुपमा पुग्छ र उत्पादन पनि बढी गर्न सकिन्छ –उहाँले भन्नुभयो ।