कपिलवस्तु, १९ असार । एक ब्यक्तिलाई गोली हानी फरार रहेका कर्तब्य ज्यान मुद्धाका फरार ब्यक्तिलाई कपिलवस्तु प्रहरीले ३ बर्ष पछि पक्राउ गरेको छ । २०७५ साल चैत १७ गते राती करिव साढे ८ वजे जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १० विद्यानगर वस्ने ५५ बर्षको पारस पुरीलाई गोली हानी कर्तब्य गरी मारेको अभियोग लागेका विजयनगर गाउँपालिका वडा नं. ७ बस्ने ५० बर्षको पशुपती कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । निजलाई कपिलवस्तु जिल्ला महाराजगंज नगरपालिका १० हर्दौना स्थित नेपाल भारत सिमानाको इलाकामा लुकीछिपी बस्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले यही असार १७ गते राती साढे ५ बजे भारतवाट नेपाल आउदै गरेका ब्यक्तिहरुको निग्रानी गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
प्रहरीका अनुसार मृतक पारस पुरी कामदारहरुलाई बिदेश पठाउने कार्यमा संलग्न ब्यक्ति हुन् । पुरीले प्रतिवादी पशुपती कुर्मीको छोरा दिनेश कुमार कुर्मीलाई बिदेश पठाई दिन्छु भनि रु एक लाख पन्ध्र हजार रकम कुर्मीवाट लिई बहराईन पठाएकोमा आफ्नो छोराले राम्रो कम्पनीमा काम र तलव नपाएको र छोरालाई विदेश पठाएको पैसा पटक पटक माग्दा पनि नदिए पछी सोही रिसिईबीका कारण सो घटना घटेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । घटना घट्नु भन्दा करिब १ महिना पहिले प्रतिवादी कुर्मी समेत ३ जना भारतको जिल्ला सिद्धार्थनगर ढकारी ग्राम खुरहुरियामा बसी निजलाई गोली हानी मार्ने योजना बनाई मिति २०७५ चैत १७ गते बेलुकाको समयमा तिनै जना डिस्कभर मोटरसाईकलमा भारतबाट राती अन्दाजी साढे ९ बजेको समयमा पारस पुरीको घर पुगी निजसँग बादविवाद भई पैसा फिर्ता नदिएपछि कटुवा पेस्तोलबाट पारस पुरीलाई गोली हानी कर्तव्य गरी मारका थिए । सो घटना पछि पछि गाउँमा हल्ला खल्ला भई गाउँलेहरु घटनास्थलमा आएसँगै कर्मीसंगै रहेको १ जना साथीले आफुसँग भएको बिष्फोटक पदार्थ बिष्फोट गराए पश्चात तिनै जना मोटरसाईकल चढी भारत तर्फ भागेका थिए । मृतक पारस पुरीलाई मार्न भनि पशुपती कुर्मीले रु पाँच हजार भारतिय रुपैयाँ दिएको समेत खुल्न आएकोले निज कुर्मीलाई पक्राउ गरी थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।