बुटवल, १५ असार । रोटरी क्लव अफ बुटवलको लगानीमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा अक्सिजन जेनरेशन प्लान्ट स्थापना गरिएको छ । रोटरीले ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत ५५ लाख रुपियाँको लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो । कोभिड १९ को महामारीले केही समय पहिले रुपन्देही लगायत देशभर अक्सिजन अभाव भएको थियो ।
कोभिडको तेस्रो भेरियन्ट आउने हल्ला चलिरहेको र यसले सबैलाई असर गर्न सक्ने कुरालाई मध्यनजर गर्दै बाल तथा महिला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको क्लवका अध्यक्ष सुनिल श्रेष्ठले बताउनु भयो । अक्सिजन प्लान्ट नहुँदा बाहिरी जिल्लाबाट सिलिन्डरमा अक्सिजन भरेर कोभिड– १९ का बिरामीका लागि प्रयोग गर्दै आएको रुपन्देहीमा आम्दामा स्थापना भएको प्लान्टले आगामी दिन अक्सिजन आपूर्तिका लागि सहज हुने उहांले बताउनु भयो ।
रोटरीले अक्सिजन प्लान्ट स्थापना गरी अस्पताललाई हस्तान्तरण गरेको हो । ‘हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच वर्षअघि नै अक्सिजन प्लान्ट स्थापना गरेका थियौं, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट नभएको अवस्थालाई मध्यनजर गर्दै रोटरीयनहरुको सहयोगमा प्लान्ट निर्माण गरेका हौँ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
अस्पतालमा निर्माण गरिएकोे प्लान्टबाट २४ घन्टामा २० देखि २५ वटा ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिनेछ । प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री लिला गिरीले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा रोटरीले लगानी गरेर उदाहरणीय काम गरेको बताउनुभयो । अक्सिजन प्लान्ट स्थापनाले अव अस्पतालमा अहिलेको जस्तो महामारीको समयमा समेत अक्सिजन अभावलाई पुर्ती गर्न सकिने भन्दै यसको संरक्षणमा ध्यान दिन उहांले आग्रह गर्नुभयो ।
रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष एवं रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले प्लान्ट निर्माणले आगामी दिनमा अस्पतालको सेवामा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
प्लान्ट हस्तान्तरणका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले रोटरीले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिदिएकोमा धन्यवाद दिंदै यसको संरक्षणका साथै दीगो रुपमा सञ्चालनका लागि अस्पताल लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा क्लवका एजी राजेन्द्र लम्सालले अक्सिजन प्लान्ट स्थापनाका प्राविधिक पक्ष र यसको योजना निर्माणदेखि स्थापनासम्मका कठिनाइहरुबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा क्लव मेन्टर कृष्णप्रसाद अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कमल थापा, क्लवका सचिव रोम शर्मा लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।