बुटवल, १५ असार । रुपन्देहीमा आजदेखि सार्वजनिक यातायात जोर–विजोर प्रणालीमा चल्न पाउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले व्यवसाय सञ्चालन खुकुलो बनाउदै एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
असार २१ गतेसम्मका लागि थप गरिएको निषेधाज्ञामा जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिने र सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले यसअघि असार ७ गते एक साताको लागि लम्ब्याएको निषेधाज्ञामा निजी सावारीलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त निषेधाज्ञाको अवधि सोमबार रातिदेखि सकिएको छ । थपिएको निषेधाज्ञामा ११ बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । अन्य सार्वजनिक मापदण्डको हकमा भने यसअघिकै निर्णयहरु कार्यान्वयन हुने छन् ।
