बुटवल, १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । यसदिन नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेर मनाइँदै छ ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।
विगतमा कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत गठित समितिले धान दिवस विशेष महोत्सव लगायत कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष भने कोरोना महामारीका कारण औपचारिक कार्यक्रमहरू राखिएको छैन ।