भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाई सराई र सम्बन्ध बिच्छेद ) शिविर सञ्चालन सुरु गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा ३\३ दिनको दरले टोलमै पुगेर ब्यक्तिगत घटना दर्ता गर्ने जनाएको छ ।
अझै पनि कतिपय गाउँपालिकाबासीहरु काम परे मात्र ब्यक्तिगत घटना दर्ता गर्ने गरेको कारण शिविरबाट समयमै घटना दर्ता गर्न सचेतना समेत फैलाउने रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो । उहांले पालिकाको प्रत्येक वडाको ३ वटा टोलमा ३ दिन सम्म कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । यसले अहिले सम्म वडा सम्म पनि नपुगेका नागरिकलाई ब्यक्तिगत घटना दर्ता मात्र नभई यसबारे सचेतीकरण समेत हुने यादवको तर्क छ । उहांले गाउँपालिकाको कुल २१ स्थानमा असार १९ गते सम्म कार्यक्रम सञ्चालन हुने बताउनु भयो । शिविरमा ब्यक्तिगत घटना दर्ता मात्र नभई सामाजिक सुरक्षा समेत दर्ता गरिने उहांले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा आयोजित राष्ट्रव्यापी ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता अनुसार गाउँपालिकाले टोलटोलमै सेवा दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले दिएको जानकारी अनुसार असार ११ गते रोहिणी गाउँपालिका वडा नमबर १ को वगहाबाट शिविर सुरु भएको छ । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने शिविर वगाहा माविमा ११ गते देखि १३ गते सम्म हुनेछ । यस्तै वडा नम्बर १ कै चनुली सामुदायिक अध्ययन केन्द्रको भवनमा १४ गते देखि १६ गते सम्म र बेनीपुरमा १७ गते देखि १९ गते सम्म सञ्चालन हुदैछ ।
त्यस्तै रोहिणी गाउँपालिका वडा नम्बर २ को पोखरभिण्डी माविमा ११ गते देखि १३ गते सम्म श्रीराम आधारभूत बिद्यालयमा १४ गते देखि १६ गते सम्म र बैकुण्ठपुर बोर्डिङ स्कूलमा १७ गते देखि १९ गते सम्म सञ्चालन गरिदैछ । वडा नम्बर ३ को राम नरेश माविमा ११ गते देखि १३ गते सम्म, परासीझुंगा जनचेतना प्राविमा १४ गते देखि १६ गते सम्म र सिसहनिया पर्ति टोल बालविकास टोलमा १७ गते देखि १९ गते सम्म शिविर सञ्चालन हुनेछ ।
वडा नम्बर ४ को छिपागढ माविमा ११ गते देखि १३ गते सम्म, औरहवा आधारभूत बिद्यालयमा १४ गते देखि १६ गते सम्म र सेमरा धर्मशालामा १७ गते देखि १९ गते सम्म शिविर सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिनुभयो । वडा नम्बर ५ को पिपरहवा माविमा ११ गते देखि १३ गते सम्म बरवामा १४ गते देखि १६ गते सम्म र तरकुलाहा धर्मशालामा १७ गते देखि १९ गते सम्म तथा वडा नम्बर ६ को पर्सा आधारभूत बिद्यालयमा ११ गते देखि १३ गते सम्म शिविर संचालन हुने छ । यस्तै बोदवार माविमा १४ गते देखि १६ गते सम्म र ललितपुर मदरसामा १७ गते देखि १९ गते सम्म शिविर रहनेछ । वडा नम्बर ७ मा पनि असार ११ गते देखि १३ गते सम्म पजरकट्टि माविमा, १४ गते देखि १६ गते सम्म सरस्वती आधारभूत बिद्यालय र १७ गते देखि १९ गते सम्म पोखरभिण्डी मदरसामा शिविर सञ्चालन हुने छ ।
गाउँपालिकाले अहिले भर्ना अभियान समेत सुरु गरेकोले शिविरले बालबालिका बिद्यालय भर्ना अभियानमा समेत सहयोग पुग्ने तथा लकडाउनका कारण प्रभावित बनेको वडाको सेवामा पनि यसले केही सहज पार्ने अपेक्षा राखिएको छ । वडामा पुगेर लिने सेवा नागरिकको घरदैलोमै पुगेको कारण यसबाट धेरै भन्दा धेरै नागरिक लाभान्वित हुन गाउँपालिकाले आव्हान गरेको छ ।
