भैरहवा, ७ असार । रुपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्लामा घट्दो कोरोना संक्रमण दरलाई मध्येनजर गर्दै थप जोखिमको आंकलन गरी निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ । यसअघि आज मंगलबारसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लामा सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । बैठकको निर्णय अनुसार कुनै पनि भेला, भिडभाड, महोत्सव, जात्रा सञ्चालन गर्न, सभा जुलुस लगायतका मानिसको भिडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन ।
त्यस्तै सबै प्रकारका सभा, पार्टी प्यालेस, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, व्युटिपार्लर र स्विमिङपुल स्पा, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पाइने छैन । यस्तै बैठकले आन्तरिक नित्य पुजाबाहेकका सबै धार्मिक साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटलाई पनि रोक लगाएको छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु संचालन गर्न पनि निषेध गरिएको छ । यस्तै घरबाट बाहिर निस्कदा दुई ब्यक्ति बिच दुई मिटरको दुरी कायम राख्ने, अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न भनिएको छ ।