बुटवल, ३१ जेठ । नेपालको चिरपरिचित कम्पनी चौधरी ग्रुप (सीजी) ले लुम्बिनी प्रादेशिक कार्यालय स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
कोभिड १९ महामारीका विरामीको उपचारका लागि चौधरी गु्रपले यस वर्ष मुलुकभरका १७ वटा स्वास्थ्य संस्थ्यालाई प्रति संस्था दुई वटाका दरले ३४ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न शुरु गरेको सीजी ग्रुपका लुम्विनी प्रादेशिक कार्यालयका प्रमुख देवराज ढुगांनाले बताउनु भयो ।
प्रति मिनेट १० लिटर ग्यास उत्पादन गरी सप्लाई दिने दुई दुई थान अक्सिजन कन्सन्ट्रेटर सोमवार लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाको वर्दघाटमा संचालित चिसापानी अस्पताल र गुल्मी जिल्ला अस्पताललाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीमार्फत हस्तान्तरण गरिएको हो ।
चौधरी ग्रुपले यसका साथै लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको रैनादेवी र रिब्दिकोट गाउँपालिकामा संचालित स्वास्थ्य चौकी र बर्दियाको बाँसगढी स्वास्थ्य चौकीलाई पनि दुई दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको प्रादेशिक प्रमुख ढुंगानाले बताउनु भयो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पवन अग्रहरी र गुल्मी जिल्ला अस्पतालका प्रतिनिधी सुदन जिसीलाई सोमवार एक समारोहका बीच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नु भएको हो ।
अक्सिजन कन्सन्ट्रेटर सहज रुपमा अक्सिजन उपलब्ध हुन नसक्ने ग्रामीण ठाउंका विरामीहरुलाई तत्काल सहज रुपमा अक्सिजन दिनका लागि बढी उपयोगी हुने चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पवन अग्रहरीले बताउनु भयो ।
कोभिडका विरामीहरुलाई ततकाल अक्सिजन दिनु परेको अवस्थामा अक्सिजन कन्सन्ट्रेटर निकै उपयोगी यन्त्रका रुपमा स्थापित भएको छ ।
चिकित्सकहरुका अनुसार आफै अक्सिजन उत्पादन गर्ने र एकै पटक ५ जना सम्मलाई अक्सिजन दिन मिल्ने भएकाले पनि निकै भरपर्दो यन्त्र र सहज रुपमा प्रयोग गर्न सकिने स्वास्थ्य उपकरणका रुपमा अक्सिजन कन्सन्ट्रेटरलाई लिने गरिएको छ ।