भैरहवा, २३ जेठ । उद्योग व्यापार संगठन, रुपन्देहीले निषेधाज्ञा अवधिभरको बैंक ब्याजमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने माग गर्दै नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
संगठनले आइतबार नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक सुदिप फुयालमार्फत ८ बुंदे माग सहितको ज्ञापान पत्र राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई बुझाएको हो । संगठनले गत वर्ष लगानी गरिएको सहुलीयतपूर्ण कर्जाको नविकरण गर्नुपर्ने माग समेत गरेको छ ।
गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहने अवधिसम्मको अवस्थालाई शुन्य अवधि मानी बाँकी अवधि मात्रै गणना गर्नुपर्ने, २०७८ असार मसान्तसम्म तिर्नुपर्ने ब्याज, किस्तालाई व्यवसायको प्रकृति हेरी ६ महिनादेखि १ वर्षसम्मको समय सिमा थप गर्नुपर्ने र बैंकको किस्ता नविकरणलाई कम्तीमा ६ महिना समय दिनुपर्ने माग संगठनले गरेको छ ।
संगठनले कोभिड–१९ ले असर पारेका उद्योगी व्यवसायीले उपभोग गरेको कर्जा बराबरको रकम पुनर्कर्जा उपलब्ध गराउनुपर्ने र सांवा किस्ताको रकमलाई पुर्नताजगीकरण गर्नुपर्ने माग पनि गरेको छ ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले यो विषम परिस्थितिमा नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा संस्थाले उठाएका मागहरु सम्बोधन गरी थोरै भए पनि उद्योगी ब्यवसायीलाई राहत उपलब्ध गराउनुपर्ने बताउनु भयो ।
ज्ञापनपत्र बुझ्दै राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक सुदिप फुयालले उद्योग व्यापार संगठन रुपन्देहीको माग सहितको ज्ञापन पत्र तत्काल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पठाउने बताउनु भयो ।