बुटवल, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले नदिजन्य पदार्थको भारत निकासी खोल्ने सरकारको निर्णयको विरोध गरेको छ । सरकारले बजेट घाटा कम गर्ने भन्दै गिट्टी वालुवा भारत निकासीको लागि खुल्ला गर्न चाहेको छ । माओवादी केन्द्रको शुक्रवार बसेको भर्चुअल बैठकले सरकारको निर्णयको भ्रत्र्सना गर्दै निर्णय कार्यान्वयन नगर्न चेतावनी दिएको छ ।
उक्त पार्टीले नदीजन्य पदार्थ निकासी र चुरे क्षेत्रको उत्खनन्ले तराई मरुभूमिमा परिणत हुन सक्ने र पहाडी क्षेत्रमा वाढी पहिरोको उच्च जोखिम वढ्ने तर्फ सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी माओवादी केन्द्र रुपन्देहीले जिल्ला स्तरमा कोभिड महामारी व्यवस्थापन तथा संक्रमितहरुको सहयोगको लागि जिल्ला सचिव नारायण जिसी (निर्मल)को संयोजकत्वमा कोभिड युनिट तयार गरेको छ ।
पार्टीको केन्द्रको निर्णय अुनसार जिल्ला स्तरीय र पालिका तथा निर्वाचन क्षेत्र स्तरीय कोभिड युनिट बनाउने निर्णय गरेको सचिव जिसीले जानकारी दिनुभयो । जिल्ला तहको युनिटमा प्रदेश कमिटिका सदस्यहरु, जिल्ला सचिवालय, चिकित्सकहरु, उद्योगी व्यवसायी रहने निर्णय भएको छ । त्यसैगरी ५ निर्वाचन क्षेत्र र १६ वटा पालिकामा हालको नेतृत्वले नै युनिटको नेतृत्व गर्नेछ । पार्टीको पालिका तहले कोभिड प्रभावितहरुको लागि संचालन गरेको हेल्प डेक्सको लागि धन्यवाद दिदै हेल्पडेक्स र कोभिड युनिटहरुमा सहयोग तथा सहकार्यको लागि अपिल समेत गरेको छ ।
बैठकले कोभिडका कारण ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्रमितहरुको स्वास्थ्य लाभको कामना साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै वैठकले प्रधानमन्त्री केपी शर्मा ओलिले दोश्रो पटक प्रतिनिधि सभा विघटन गरेकोमा यसलाई प्रतिगमनको निरन्तरता भन्दै प्रतिगमनका विरुद्ध गाउं तहसम्म विरोधका कार्यक्रमलाई प्रभावकारी वनाउने निर्णय समेत गरेको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश कमिटि सचिव जग प्रसाद शर्मा (अपार), केन्द्रिय सदस्यहरु बामदेव क्षेत्री, हकिकुल्लाह खां, प्रदेश कार्यालय सचिव सुदर्शन बराल, केन्द्रिय प्रतिनिधि रामप्रसाद वन्जाडे लगायले पार्टीले संचालन गरेको कार्यक्रम प्रभावकारी वनाउन र जनताप्रति पार्टीलाई कसरी एकाकार वनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षणात्मक धारणा राख्नुभएको थियो ।