बुटवल, २२ जेठ । बिश्व वातावरण दिवसको अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा गठित तिलोत्तमा सामुदायिक पार्क समितिले साताव्यापी बृक्षारोपणको कार्यक्रम शुरु गरेको छ ।
तिलोत्तमा पार्कलाई जिल्लाकै नमूना योग्य र फूलको अनुसंन्धान स्थलका रुपमा विकास गर्ने लक्ष्य राखेको संस्थाले २० हजार बढी फूलका विरुवा रोेप्ने अभियान शुरु गरेको संस्थाका अध्यक्ष दीपक पाठकले जानकारी गराउनु भयो । पार्कमा कपुर, धुपी, हेज र सिउडी प्रजातीका विरुवा रोप्न थालिएको र एक साता सम्म बृक्षारोपण गरिने संस्थाका उपाध्यक्ष श्याम न्यौपानेले बताउनु भयो ।
संस्थाले आफ्नै पार्कमा विरुवा तयार गरी बृक्षारोपण शुरु गरेको हो । साताव्यापी बृक्षारोपण कार्यक्रमको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गदै संस्थाले गरेको उदाहरणिय अनुकरणिय काममा नगरपालिकाको सधै साथ र सहयोग रहने बताउनु भयो । कोरोनाले थला परेको समयमा पार्कलाई हरियाली वनाउने र फूलको अनुसन्धान स्थलका रुपमा विकास गर्ने संस्थाको सोचले वातावरणमा अक्सिजनको कमीलाई समेत केही टेवा पुराउने प्रमुख घिमिरेले बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष शुकदेव न्यौपाने, ४ का वडा अध्यक्ष दीवाकर ढकाल, संस्थाका कृष्ण केसी लगायतले बोल्दै पार्कलाई सुन्दर र रमणिय बनाउन बृक्षारोपणले महत्वपूर्ण टेवा पुग्ने धारणा राख्नु भएको थियो ।