भैरहवा, २१ जेठ । अर्घाखाँची सिमेन्ट प्रालिले लुम्बिनी प्रेस क्लब, भैरहवा रुपन्देहीमा आबद्ध पत्रकारहरुलाई अक्सिमिटर र माक्स सहयोग गरेको छ । उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल र सहायक महाप्रबन्धक कृष्ण पाण्डेले शुक्रबार क्लबमा आएर अध्यक्ष नरेश केसीलाई अक्सिमिटर र माक्स हस्तान्तरण गर्नुभएको हो ।
उद्योगले क्लबमा आबद्ध पत्रकारहरुका लागि ३८ थान अक्सिमिटर र ६ सय पिस केएन ९५ माक्स सहयोग गरेको हो । कोरोना महामारीका बेला अग्रपंक्तिमा खटेर समाचार संकलन गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गरी अक्सिमिटर र माक्स सहयोग गरेको उद्योगका प्रबन्ध निर्देशक अग्रवालले बताउनुभयो ।
‘हामी पत्रकारहरुसँग सधैं हातेमालो गरेर अघि बढिरहेका छौं, महामारीका बेला नागरिकलाई सही सूचना दिन र सूसुचित बनाउन पत्रकार जगत्को ठूलो भूमिका छ’, अग्रवालले भन्नुभयो– ‘विगतदेखि नै यस क्षेत्रका हरेक गतिविधिलाई यहाँहरुले प्राथमिकता दिनुभएको छ । यसलाई निरन्तरता दिनुहोला, हामी यहाँहरुसँग सधैं सहकार्य गर्ने छौं ।’
अग्रवालले महामारीबाट कसरी बँच्ने, सामाजिक दूरी कायम राख्नेबारे, रोग लागिहाले उपचार विधिबारे सबैलाई सही सूचना दिएर पत्रकारहरुले ठूलो योगदान दिएको भन्दै प्रशंसा गर्नुभयो ।
प्रेस क्लबका अध्यक्ष केसीले सधैं समाजका लागि सही सूचना दिने र मार्गदर्शनमा टेवा पुर्याउँदै आएका पत्रकारहरुसँग महामारीका बेला हातेमालो गरेको भन्दै उद्योग र संचालकहरुप्रति आभार व्यक्त गर्नुभयो ।
क्लबका निवर्तमान सल्लाहकार चेतन पन्तले क्लबको आग्रहलाई सहजै स्वीकार गरी यति ठूलो सहयोग गरेको भन्दै उद्योगलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
क्लबले दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता आवश्यकताका आधारमा क्लबका सबै पत्रकारहरुलाई माक्स, सेनिटाइजर चाहिएजति उपलब्ध गराउँदै आएको महासचिव कमल रायमाझीले बताउनु भयो । महामारीकाबीच क्लबले केही दिन अघि क्लबका सदस्यहरुलाई कोशेली भेटमार्फत् खाद्यान्न सहयोग, पानी तताउने केटल पनि उपलब्ध गराएको थियो ।
