नवलपरासी, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ताबारे कसैसँग पनि छलफल नभएको बताउनु भएको छ ।
जनता सामाजवादी पार्टीका नेता महन्थ ठाकुर समूहसँग मिलेर नयाँ पार्टी दर्ता गर्न लागेको भन्नेबारेको चर्चा निराधार हल्ला मात्र भएको मन्त्री त्रिपाठीको भनाई छ । शुक्रबार गृह जिल्ला पश्चिम नवलपरासी आउनुभएका मन्त्री त्रिपाठीले पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो– ‘महन्थजीसँग मेरो भेटघाट भइरहन्छ । तर नयाँ दल दर्ताबारे कुनै छलफल र कुराकानी भएको छैन । यो कपोकल्पित र निराधार कुरा मात्र हो ।’
स्वतन्त्र राजनीतिक समूहका संयोजक समेत रहनुभएका मन्त्री त्रिपाठीले महन्थ ठाकुर समूहसँग आफ्नो समूह मिलेर नयाँ पार्टी खोल्ने होईन बरु उहाँहरु नै आफूले अंगिकार गरेको राजनीतिक लाइनमा आएको दाबी गर्नुभयो ।
‘मलाई तत्कालिन एमालेसँग गठबन्धन गर्दा विभिन्न आरोप लगाउने उपेन्द्र र महन्थजीहरु पालैपालो आउन थाल्नु भएको छ । पहिला १९ महिना सरकारमा बसेर उपेन्द्रजीलाई बिदाई गरें । अब १÷२ दिनमा महन्थजी पनि सरकारमा आउँदै हुनुहुन्छ । उहाँलाई स्वागत गर्छु । यसले मेरो नैतिक र राजनीति बिजयी भएको छ ।’ मन्त्री त्रिपाठीले भन्नुभयो ।
आफ्नो लाइनले राजनीतिक नेतृत्वको दुरदर्शितालाई पुष्टि गरिसकेकाले अब छिट्टै नयाँ दल दर्ता गर्ने मन्त्री त्रिपाठीको भनाई छ । ‘हाम्रो नयाँ दल दर्ता भइसक्थ्यो संक्रमणले गर्दा ढिलो भएको हो । अवस्था सामान्य भएपछि दल दर्ता गर्छौ ।’ मन्त्री त्रिपाठीले भन्नुभयो ।
