बुटवल, २१ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीले बरिष्ठ पत्रकार नारायण सापकोटारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ पत्रकार टोपराज शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको सचिवालय बैठकले उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार मूल्यांकन समितिले पुरस्कारका लागि अनलाईन खबरमा कार्यरत पत्रकार शर्मालाई गरेको सिफारिशलाई अनुमोदन गरेको हो ।
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको संयोजकत्वमा गठन भएको मूल्यांकन समितिमा लेखक तथा वातावरणका जानकार युवराज कंडेल र डिभिजन वन कार्यालयका प्रतिनिधि राजन खड्का सदस्य रहनुभएको थियो ।
प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरण दिवसका दिन प्रदान गरिने यो पुरस्कार कोरोना महामारीका कारण यो वर्ष पछि वितरण गरिने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताउनु भयो । वातावरणका बिषयमा पत्रकारलाई प्रेरित गर्न भैरहवा निवासी पत्रकार सापकोटाले पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ ।