बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज (शनिबार) सार्वजनिक हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्नुहुने छ ।
बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । अर्थ मन्त्रालयका अनुसार संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको छ । बजेट प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको छ ।
बजेट अध्यादेश सिफारिसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो । मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार अपरान्ह ४ बजे अर्थमन्त्री पौडेलले बजेट भाषण गर्ने तयारी गर्नुभएको छ ।
