देशभर १०६ जनाको मृत्यु, ७ हजार २ सय २६ जना संक्रमण मुक्त
बुटवल, १३ जेठ । रुपन्देहीमा कोरोना संक्रमण भै निको हुनेको संख्या २२ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ४ सय ४३ जनाको कोरोना परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८४ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार संक्रमित हुनेहरुमा बुटवल उपमहानगरपालिकामा २७ जना, तिलोत्तमा नगरपालिकामा ३१ जना, सिद्धार्थनगर नगरपालिकामा २० जना, सैनामैना नगरपालिकामा ८ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना र अन्य केही पालिकाहरुमा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।
हालसम्म रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ९ सय ५६ पुगेको छ भने जिल्लामा ३ हजार ५ सय ३० जना सक्रिय संक्रमित छन् ।
यस्तै देशभर २४ घण्टामा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका छन् । जसमा ७ हजार २ सय २६ जना संक्रमण मुक्त भएका छन् भने १०६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।