बुटवल, १३ जेठ । लुम्विनी प्रदेशमा क्रियाशिल विभिन्न राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीले चालेको प्रतिगमन परास्त भएर छाड्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुले विहिवार संयुक्त रुपमा विज्ञप्ति निकालेर प्रतिगमनको पराजय र जनताको जित सुनिश्चित रहेको जनाएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल, ने.क.पा. (माओवादी केन्द्र) लुम्विनी प्रदेश कार्यालय सचिव सुदर्शन वराल, नेकपा (एमाले) प्रदेश कार्यालय सचिव खेम लुईटेल, जसपा नेपाल लुम्विनी प्रदेशका अध्यक्ष अशोक यादव र राष्ट्रिय जनमोर्चा लुम्विनी प्रदेश उपाध्यक्ष बदे्र आलमद्धारा जारी विज्ञप्तिमा स्पष्ट अल्पमतमा परिसकेपछि लिखित र मौखिक रुपमा अल्पमतमा परे भनी स्वीकार गरिसकेका प्रधानमन्त्रीले पुनः राष्ट्रपतिसंग सांठगांठ गरी जेठ ७ गते मध्यरातमा षडयन्त्रमुलक ढंगले संविधानमा भएको व्यवस्थाको धज्जी उडाएको टिप्पणि गर्नुभएको छ । जनसमुदायको जीवन रक्षाको लागि निरन्तर जुट्नका लागि सम्पुर्ण पार्टी पंक्तिलाई विज्ञप्ति मार्फत अपिल गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अराजनैतिक, अनैतिक र जनविरोधी क्रियाकलापको घोर निन्दा र भ्रत्सना गर्दै उनीहरुले २१ औं शताब्दीका स्वाभिमानी चेतनशिल जनताको अग्रगामी चेतनाको अगाडी लेण्डुप पथमा लैजान खोजेको प्रतिगमन परास्त भई छाड्ने विश्वास व्यक्त गरेका छन् ।
ओलीको कदमले नेपाली जनताले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आज सर्वाधिक संवेदनशील अवस्थामा पुगेको जनाउदै विज्ञप्तिमा संविधान मार्फत संस्थागत गरिएको गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीता, धर्मनिरपेक्षता र लोकतन्त्र यतिवेला प्रधानमन्त्री र राष्ट्रपतिको गठवन्धनबाट धरापमा परेको उल्लेख छ । विज्ञप्तीमा कोभिड नियन्त्रणमा सरकार असफल भएको जनाईएको छ ।
‘आज कोभिड–१९ का कारण जनताले दैनिक झण्डै २ सयको संख्यामा ज्यान गुमाउनु परेको छ । हजारौको संख्यामा संक्रमित भएका छन् । अस्पतालहरुमा अक्सिजन, वेड, भेन्टिलेटर र अन्य स्वास्थ्य उपचारको अभाव छ । जनता पिडाले आक्रान्त परिरहेका छन् भने स्वयं स्वास्थ्यकर्मीहरु असहाय अवस्थामा भावुक बनेका दृष्यहरु सार्वजनिक भएका छन । ’ विज्ञप्तिमा उल्लेख छ ।
‘लामो समयको लकडाउनका कारण लाखौं श्रमिक, साना व्यापारी, न्युन वैतनिक कर्मचारीहरु, दैनिक रोजिरोटी कै समस्या झेल्न थालेका छन् । सिंगो मुलुक महामारीबाट आक्रान्त भएर स्तब्ध भईरहेको छ । मृतकका आफन्तहरु अन्तिम संस्कारमा सहभागी हुन नसकेको कठोर अवस्था छ । यस्तो कठिन र पिडादायी क्षणलाई कुनै थाहा नपाए जस्तो, नदेखे जस्तो गरी जनताको संवेदना माथि मजाक उडाउदै ‘… लाई खानकै रन्को’ भने जसो गरि असंवैधानिक तरिकाले निर्वाचनको घोषणा गरिएको छ । देशवासीको जीवन बचाउन आवश्यक पर्ने अक्सिजन सिलिण्डर, खोप र स्वास्थ्य उपचार उलपव्ध गराउनको लागि संसार भर झोली थापिरहेको निर्लल्ज सरकारले निर्वाचनको लागि भने अरबांै, खरवांै रुपैयाँ चिन्ता नगर्न निर्वाचन आयोगलाई भनेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।