बुटवल, ९ जेठ । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आहवान भएको छ । रुपन्देही र पाल्पा जिल्लाको सीमाना पर्ने बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि आइतबार टेण्डर आह्वान गरिएको हो ।
सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति प्रदान गरेको थियो । अर्थको सहमतिअनुसार सडक विभागले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको हो । सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्ने भनिएको छ ।
गएको मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । टेण्डर आह्वानसँगै सुरुङ मार्ग निर्माणले मूर्तरुप पाउने आशा गरिएको छ । सुरुङ मार्ग एक किलोमिटर १२६ मिटरको हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिने सडक विभागका उपमहानिर्देशक विजय जैशीले जानकारी दिनुभयो । उहांका अनुसार सुरुमा जाली राखेर यसलाई व्यवस्थित गरिने छ ।
पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी चल्ने सिद्धबाबा सडक खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्छ । हरेक वर्ष वर्षा याममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा ठूलोमात्रामा जनधनको क्षति हुने गरेको छ ।
सडक विभागको तथ्यांक अनुसार गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ भने ६० भन्दा बढी सवारी साधन दुर्घटनामा परेर पुरिएका छन् ।
