भैरहवा, ६ जेठ । लुम्बिनी प्रेस क्लब भैरहवा रुपन्देहीले क्लवमा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना (पीसीआर) परीक्षण सुरु गरेको छ । क्लबले नेशनल प्याथ ल्याब प्रालिको सहयोगमा क्लबमा आबद्ध पत्रकारहरुको पीसीआर परीक्षण सुरु गरेको हो ।
क्लबका अध्यक्ष नरेश केसीका अनुसार क्लबमा आबद्ध ३८ पत्रकारहरुको पीसीआर परीक्षण बिहीबारबाट सुरु भएको छ । अध्यक्ष केसीका अनुसार अघिल्लो वर्ष पनि क्लबमा आबद्ध पत्रकारहरुको निःशुल्क परीक्षण गरिएको र योपल्ट पनि निःशुल्क गगरिएको छ । गत वर्ष सिद्धार्थ लेडी जेसिजको सहयोगमा पत्रकारहरुको पीसीआर जाँच भएको थियो ।
क्लबमा आबद्ध पत्रकारहरुले पीसीआर जाँच गर्न चाहेमा भैरहवास्थित सिद्धार्थ बसपार्कमा रहेको नेशनल प्याथ ल्याबको कार्यालयमा गएर निःशुल्क जाँच गर्नसक्ने कोषाध्यक्ष प्रकाश न्यौपानेले बताउनुभयो । क्लवको आग्रहमा नेशनल प्याथ ल्यावले सहकार्य गरेकाले यसवाट फ्रन्टलाइनमा खट्ने पत्रकारहरुलाई ठूलो सहयोग पुग्ने कोषाध्यक्ष न्यौपानेले बताउनु भयो ।
नेशनल प्याथ ल्याबका संचालक रुद्र कार्कीले फ्रन्टलाइनमा रहेर सधै खट्ने पत्रकारहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत प्रेस क्लबको अनुरोधलाई स्वीकार गर्दै निःशुल्क पीसीआर परीक्षण गरिएको बताउनुभयो ।
नेशनल प्याथ ल्याबका भैरहवा इन्चार्ज मनोज कुमार प्रजापतीका अनुसार अहिले दैनिकरुपमा यहाँ १५० जनाको हाराहारीमा पीसीआर जाँचका लागि स्वाव दिन आउने गरेका छन् । ल्याबले अशक्त, विरामी र होम आइसोलेसनमा बसेकाहरुलाई सम्बन्धित ठाउँमै गएर स्वाव संकलन पनि गर्दै आएको छ ।