बुटवल, ६ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तब्य ज्यान मुद्धाका फरार अपराधीलाई पक्राउ गरी कारागार चलान गरेको छ । प्रहरीले फरार प्रतिवादी विरुद्धको अप्रेसन कार्यक्रम अन्तर्गत जघन्य अपराधका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्धेश्यले यही जेठ १ गते देखि प्रहरीले कोरोनाको महामारीका विच सञ्चालन गरेको फरार प्रतिवादी बिरुद्धको अप्रेशन कार्यक्रम अन्तर्गत प्रहरीले अहिले सम्म जघन्य अपराधमा संलग्न १० बर्ष भन्दा बढी सजाय भएका ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिसकेको ।
प्रहरीले बुधबार मात्र कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्मकैदभई फरार रहेका प्रतिवादी जिल्ला रुपन्देही साविक रुद्रपुर गा.वि.स.वडा न. ९ हाल कन्चन गाउँपालिका वडा न. ३ बस्ने बर्ष ७१ को यम वहादुर क्षेत्रीलाई पक्राउ गरेको छ । निजलाई तत्कालिन पुनरावेदन अदालत बुटवलले मिति २०५९।१०।१५ गते (लगत नम्बर १६४४) कर्तव्य ज्यान मुद्धामा सर्वस्व सहित जन्मकैदको फैसला गरेको थियो । प्रहरीले फरार अपराधी क्षेत्रीलाई अप्रेशन कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले निजको आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका क्षेत्रीलाई फैसला कार्यान्वयनको लागि आज (विहिबार) रुपन्देही जिल्ला अदालतमा कैद भुक्तानको लागी बुझाएकोमा कारागार चलान भएको प्रहरीले जनाएको छ ।