रामकुमार श्रेष्ठ
नवलपरासी, ५ जेठ । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र सशस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभर घाइते भएका थिए । घाइते राजभरको शहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पु¥याइएको थियो ।
उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले बताउनुभयो । उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५स्थित नथुई नाका (वनकट्टी) बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए ।
सुरुमा ५÷७ जनाको समूहमा आएका व्यक्तिहरुसँग शसस्त्र प्रहरीको भनाभन भएको थियो । त्यसपछि उनीहरुले गाउँबाट ५०÷६० जनाको समूह बोलाई शसस्त्र प्रहरी टोलीमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनु भयो ।
‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रृ ग्याँस प्रहार गरिएको थियो । तर भिड अझ उग्रहुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको हो ।’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भन्नुभयो । भिडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरिक्षक (सई) शंकर बुढाथोकी घाईते भएको र उनको टाउकोमा गम्भिर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ । जिल्लामा निषेधाज्ञालाई थप कडाई गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर पनि स्थानीयहरु नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् ।