भैरहवा, ३ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिकाले जिल्लाको सरकारी अस्पताल भिम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले ५ लाख रुपैयाँको चेक भिम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शकुन्तला गुप्तालाई प्रदान गर्नुभएको छ ।
चेक बुझ्दै डाक्टर गुप्ताले अहिले अस्पताललाई स्थानीय तह लगायत अन्य संघ संस्थाहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । कोभिडको यो महामारीको समयमा अस्पतालमा अहिले जनशक्ति र अक्सिजनमा अत्याधिक खर्च रहेको बताउनुभयो । उहांले समयमै सरकारी बजेट आईनपुग्दा अक्सिजनको रकम बुझाउन समेत अप्ठ्यारो भईरहेको गुनासो गर्नुभयो । यस्तो अवस्थामा रोहिणी गाउँपालिकाको यो सहयोग अति महत्वपूर्ण रहेको उल्लेख गर्दै उहांले माथीबाट बजेट आई पुगे पनि सो रकमलाई अन्य शिर्षकमा खर्च गर्न सक्ने बताउनुभयो । अहिले सम्म रोहिणी गाउँपालिका बाहेक सम्मरीमाई गाउँपालिकाले पनि ३ लाख रुपैयाँ सहयोग गरेको उहांले जानकारी गराउनु भयो ।
अस्पताललाई सहयोग रकमको चेक प्रदान गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जिल्ला स्थित सरकारी अस्पतालको संरक्षण गर्नु रुपन्देहीको सबै स्थानीय तहहरुको समान दायित्व रहेको बताउनुभयो । उहांले सरकारी अस्पतालमा कुनै एक पालिकाको मात्र नभई सबै पालिकाका बिरामीले उपचार पाउने भएकोले यसको संरक्षणमा सबैका दायित्व हुनु पर्ने जिकिर गर्नुभयो ।
सहयोग प्रदान गर्ने क्रममा गाउँपालिका अध्यक्ष यादवले अस्पतालमा रहेका रोहिणी गाउँपालिकाका बिरामीका साथै अन्य बिरामीहरुलाई भेटेर उनीहरुलाई आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।
रुपन्देही जिल्लाको सरकारी अस्पतालको रुपमा रहेको भैरहवा स्थित भिम अस्पतालमा अहिले रुपन्देही जिल्लाका सबै पालिकाका मात्र नभई अन्य जिल्लाका पनि कोभिडका बिरामीहरुको उपचार भईरहेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शकुन्तला गुप्ताले अहिले भिम अस्पतालमा ८१ जना कोभिडकै बिरामी रहेको र सबै जना अक्सिजनमा रहेको जानकारी दिनुभयो ।