बुटवल, ३ जेठ । आज मदन–आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।
वि.सं. २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगास्थित सडकबाट त्रिशुली नदीमा खस्यो । सोही घटनामा दुवै नेताको मृत्यु भयो ।
भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ । लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गर्नुभएको थियो ।
छोटै समयमा सर्वाधिक लोकप्रिय बन्नुभएका भण्डारीको २०५० जेठ ३ गते (आजकै दिन ) चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो । आश्रितको मृत अवस्थामै गाडीमा शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिन पछि भेटिएको थियो ।
‘दासढुंगामा घटना’ घटेको २८ बर्ष वितेको छ । यो घटनाको छानबिन गर्न धेरै आयोग बने तर अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन । पटक पटक एमाले नेतृत्वको सरकार बने पनि एमालेले घटनाको छानविनमा खासै ध्यान दिएको छैन । घटना घटेको २८ वर्षसम्म पनि घटनाबारे यथार्थ बाहिर नल्याएको आरोप एमाले माथि लाग्ने गरेको छ । सो घटनालाई राजनीतिक दाउपेचका लागि मात्रै एमालेले प्रयोग गरिरहेको आरोप लागिरहँदा छानबिन आयोगका अध्यक्ष अर्थात केपी शर्मा ओली यतिखेर नेकपा (एमाले) का अध्यक्ष र देशका प्रधानमन्त्री हुनुहुन्छ ।
पार्टी सरकारमा भएका बेला तदारुकता देखाउने हो भने घटनाको सत्यतथ्य बाहिर ल्याउन सकिने एमाले कार्यकर्ताको विश्लेषण छ ।
