बुटवल, २० बैशाख । पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट निधन भएको छ । ७३ बर्षीय चित्रकारको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा आज (सोमबार) निधन भएको हो ।
बैशाख १७ गते भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा भर्ना भइ उपचाररत चित्रकारमा श्वासप्रश्वासमा समस्या देखिएपछि सघन उपचारकक्षमा उपचारकै क्रममा चित्रकारको आज विहान ७ः५० बजे मृत्यु भएको मेडिकल कलजेका सूचना अधिकारी तेज प्रसाद केसीले जानकारी गराउनु भयो ।
वि.सं. २००५ सालमा पाल्पाको तानसेनमा चित्रकारको जन्म भएको थियो । राजाको प्रत्यक्ष शासनमा राजनीतिमा सक्रिय रहनुभएका चित्रकार वि.सं. २०५८ सालमा राजा ज्ञानेन्द्रले कु गरेपछि भूमि सुधार सहायक मन्त्री बन्नुभएको थियो । केहि समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा जिम्मेवारी सम्हाले पनि पछिल्लो समय भने उहां स्वतन्त्र रुपमा सामाजिक आन्दोलनमा सक्रिय रहनुभएको थियो ।
रुपन्देहीको भैरहवा क्षेत्रमा बस्दै आउनु भएका चित्रकारका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।