बुटवल, २० बैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने एक ब्यक्तिलाई ९ हजार १ सय जरिवाना अशुलउपर गरी छाडेको छ ।
जिल्ला चितवन राप्ती नगरपालिका–४, घर भई हाल रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–४ बस्ने ३४ बर्षीय मोहन श्याम वलीले निषेधाज्ञाको पालना गराउन खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत सहितको टोलीलाई बाधा अवरोध पुर्याएकोले प्रहरीले वलीलाई नियन्त्रणमा लिएको हो ।
निषेधाज्ञाको अवज्ञा गरेको आरोपमा नियन्त्रणमा लिइएका वलीलाई प्रहरीले संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएकोमा एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप ९ हजार १ सय जरिवाना अशुलउपर गरी छाडिएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कारोना संक्रमित विरामीको संख्या बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न यही बैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।