सार्वजनिक पार्कहरुमा खुला व्यायामशाला बनाउने अभियान
बुटवल, १४ बैशाख । रुपन्देही जिल्लास्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका प्रथम भएको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहत जिल्ला खेलकुद विकास समितिको समन्वयमा उक्त प्रतियोगिता भएको हो ।
हालै भएको प्रतियोगितामा रुपन्देहीका १६ पालिकाहरुलाई पछि पार्दै बुटवल उपमहानगर प्रथम भएको हो । बुटवल उपमहानगरले १० स्वर्ण, १२ रजत र १४ काश्य प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापाले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा एथेलेटिक्स, कबड्डी, भलिवल, कराँते र तेक्वान्दोका अलग अलग समूहमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा तिलोत्तमा नगरपालिका द्वितीय र कञ्चन गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार तिलोत्तमाले १० स्वर्ण, आठ कास्य र आठ रजत तथा कञ्चन गाउँपालिकाले ६ स्वर्णप्राप्त गरेका थिए ।
पालिका स्तरमा भएका प्रतियोगिताबाट छनौट भएकाहरुलाई जिल्ला स्तरको प्रतिस्पर्धामा सहभागी गराइएको थियो । अन्तरपालिका स्तरको जिल्ला स्तरीय प्रतियोगिताको आयोजना नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको जिल्ला खेलकुद विकास समितिले गरेको हो । यसअघि विद्यालय स्तरमा हुने प्रतियोगिता यसपालिदेखि पालिकास्तरमा भएको हो ।

बुटवलका नगर प्रमुख शिवराज सुवेदीले जिल्ला प्रथम हुन सफल खेलाडी, प्रशिक्षक, अफिसियल, सहभागि विद्यालय तथा खेलप्रेमी सबैलाई आभार प्रकट गर्दै पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाई समय अनुकुल मिलाएर सम्मान गरिने जानकारी गराउनुभयो ।
उहांले खेलकुदलाई पनि समृद्धिको एउटा आधारका रुपमा लिएको भन्दै सोही अनुसार पूर्वाधार विकास देखि खेलाडी उत्पादनसम्मका काममा योजना बनाइएको बताउनुभयो । खेलकुदको बहुआयामिक विकासका लागि उपमहानगरले निजी क्षेत्रसंग समेत सहकार्यका कार्यक्रम सञ्चालन उहांले बताउनुभयो ।
उमेर समूहका खेलाडीलाई प्लेटफर्मको आधारका रुपमा पालिका स्तरमा भएका प्रतियोगिताबाट उत्कृष्ट भएकाहरु जिल्ला स्तरमा भएको अन्तरपालिकाको प्रतियोगितामा सहभागि गराएको र उनीहरुबाट उत्कृष्ट नतिजा प्राप्त भएको बुटवल नगर खेलकुद विकास समितिका सदस्य तथा प्रशिक्षक उमेश थापाले बताउनुभयो ।
खेलकुदको विकास संगै बुटवल उपमहानगरपालिकामा खुला व्यायामशालाको अवधारणा पनि साकार हुने चरणमा छ । यहाँका सार्वजनिक पार्कहरुमा खुला व्यायामशाला बनाउने अभियान अन्तर्गत विभिन्न पार्कहरुमा व्यायामशाला बनेको उपमहानगरको नगर खेलकुद विकास समितिले जनाएको छ ।
उपमहानगरका १९ वटै वडाहरुमा प्राविधिक अध्ययनका काम पूरा भइसकेको र कतिपय वडामा व्यायामशाला निर्माण भइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले बताउनुभयो । पार्कहरुमा खुला व्यायामशालाको अवधारणा मुलुकमै नमुना रहेको उहाँको दाबी छ ।
पार्कहरुलाई व्यवस्थित गर्दै व्यायाम गर्ने उपकरणहरु जडान गरिने र स्याहार सम्भारका लागि पालैपालो स्वयमसेवक राखिने छ । सार्वजनिक पार्कहरुलाई व्यवस्थित गर्ने र त्यहाँ निशुल्क रुपमा व्यायाम गर्ने व्यवस्था मिलाउनका लागि उपमहानगरले पहिलो चरणमा यो कामका लागि २० लाख बजेट बिनियोजन गरेको थियो । नगरमा रहेका मैदानहरुको स्तरोन्नति र संरक्षणको काम समेत अगाडि बढाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।