रामकुमार श्रेष्ठ
नवलपरासी, १४ बैशाख । दुई दिनको अन्तरालमा पश्चिम नवलपरासीमा कोरोनाका कारण बुवाछोराको निधन भएको छ ।
मंगलबार विहान रामग्राम नगरपालिका ९ का ३५ बर्षीय पुरुषको कोरोना संक्रमणको कारण निधन भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले बताउनुभयो ।
उनलाई स्वास फेर्न गाह्रो भए पछि पृथ्वी चन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकोले रुपन्देहीको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा प्रयास गरिए पनि स्थान अभावकै कारण समयमै उपचार नपाउँदा उनको निधन भएको हो ।
मंगलबार विहान साढे ८ बजेतिरको समयमा उनको निधन भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो । दुई दिन अघि मात्रै उनका बुवाको पनि कोरोनाकै कारण घरमै निधन भएको थियो ।
यो सहित पश्चिम नवलपरासीमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।