बुटवल, ४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चार धामका कलात्मक नमुना मन्दिर निर्माण गरिँदै छ । पुराणमा उल्लेख भए अनुसार धाममा भारतका बद्रिनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपा निर्माण गर्न लागिएको हो ।
पृथ्वीमा स्वर्गको आभाष हुने परिकल्पना गरिएको मोक्षधाममा चार धाम सहित रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपा सहित विभिन्न देवी देवताका विग्रहहरु स्थापित गरिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणिप्रसाद पाठकले जानकारी दिनुभयो । अध्यक्ष्य पाठकका अनुसार रुपन्देही जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो ।
धाम निर्माणका लागि करिव १ अर्ब भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । निर्माण गर्न लागिएका धामहरुको यही बैशाख ११ गते शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । आयोजना निर्माण स्थल (मोक्षधाम)मा बद्रिनाथ, जगन्नाथ, रामेश्वरम, द्वारिका, रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपाको सन्त महन्त, जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लब्धप्रतिष्ठित व्यक्ति, व्यापारी, उद्योगी तथा भक्तजनहरुबाट सामुहिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी गराउनु भयो ।
त्यस्तैगरी निर्माण सपन्न मुक्तिनाथ मन्दिर, १ हजार १०८ शिवलिंग द्वादश ज्योतिर्लिङ्ग सहित पशुपतिनाथ मन्दिर, सन्त निवास (सत्संग कक्ष) भवन, बृद्धबृद्धा तथा बाल आश्रम, सभा हलको उद्घाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ । निर्माण सम्पन्न पूर्वाधार उद्घाटनको लागि अर्थमन्त्री विष्णु पौडेल, नेपाली काँग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँण, श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजलाई आमन्त्रण गरिएको आयोजकले बताएका छन् ।
धेरै भन्दा धेरै देवीदेवताहरुको विग्रह स्थापना गरी सनातन वैदिक धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरी पूर्वाधार निर्माण सुरु गरिएको थियो । २०७२ देखि निर्माण सुरु गरिएको मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिङ्ग तथा १ हजार १०८ शिवलिङ्ग स्थापना सहितको विश्वनाथ मन्दिर, हवनकुण्ड, अमृत कुण्ड, बाल तथा बृद्धाश्रम, मुक्तिनाथ मन्दिर र सभा हल निर्माण सम्पन्न भएको छ । अहिले सम्म धामको भौतिक पूर्वाधार निर्माणमा मात्रै सरदर ६ करोड रुपैंया खर्च भएको छ भने धामको चल अचल समेत गरि कुल सम्पत्ति ५० करोड बढी रहेको कोषाध्यक्ष बञ्जाडेले बताउनुभयो ।