बुटवल, ४ बैशाख । नेपाल पत्रकार महासंघ रुपन्देहीको एघारौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिको पदस्थापना भएको छ । चैत २५ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित रामराज पोख्रेल नेतृत्वको कार्यसमितिलाई यानेन्द्र जिसि नेतृत्वको कार्यसमितिले आज पद हस्तान्तरण गरेको हो ।
पद हस्तान्त्रण कार्यक्रममा बोल्ने पत्रकार महासंघका पूर्व अध्यक्ष तथा पत्रकार सम्बद्ध संगठनका नेताहरुले महासंघलाई श्रमजिवी पत्रकारहरुले अपनत्व गर्ने संस्थाको रूपमा बिकास गर्नुपर्नेमा जोड दिएका छन् । चुनावका क्रममा भएका प्रतिष्पर्धालाई भुलेर महासंघलाई सबै श्रमजिवी पत्रकारहरुले अपनत्व गर्ने संस्थाको रुपमा अगाडी बढाउन उनीहरुले सुझाव दिएका छन् । महासंघ सबैखाले पत्रकारहरुको छाता संगठन भएको भन्दै उनीहरुले चुनावमा जुनसुकै संगठनबाट प्रतिनिधित्व गरे पनि निर्वाचित भएपछि सबै पत्रकारहरुको साझा नेतृत्व भएकोले नवनिर्वाचित कार्यसमितिले सोही अनुसारको व्यवहार गर्नुपर्ने आवस्यकता औल्याएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पत्रकार महासंघको गरिमा सदैव उच्च राख्ने गरि काम गर्न नयाँ नेतृत्वलाई सुझाव दिनुभयो । अर्का पूर्व अध्यक्ष विनोद पहाडीले रुपन्देहीको नवनिर्वाचित टिमले देशमै नमूना काम गरेर अब्बल सावित हुनुपर्ने बताउनु भयो । पूर्व अध्यक्ष दीपक ज्ञवालीले भोट तान्न सक्रिय भएजस्तै राम्रो काम गर्न पनि त्यसैगरि सक्रिय हुन सुझाव दिनुभयो ।
महासंघका पूर्व केन्द्रीय सदस्य तथा निर्वाचन समितिका संयोजक नारायण सापकोटाले निर्वाचन एउटा प्रक्रिया भएकाले सबै एकताबद्ध भएर अगाडी बढ्नुुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकार महासंघको साझा चरित्रलाई कायम राख्दै पेशागत अधिकारका लागि लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामराज पोखरेलले सबैलाई समेटेर साझा रुपमा महासंघलाई अघि बढाउने प्रतिबद्धता जनाउनु भयो ।
निवर्तमान अध्यक्ष यानेन्द्र जिसीले आफुले १६ वर्ष रुपन्देही पत्रकार महासंघमा बिताएको स्मरण गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा महासंघका निवर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी दिनेश पाण्डेले पत्रकार महासंघमा रहदा पत्रकारहरुको हकहितका लागि निरन्तर खटिएको स्मरण गर्दै बर्तमान नेतृत्वलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा महासंघका निबर्तमान उपाध्यक्ष निरु गौतम, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका उपाध्यक्ष लक्ष्मण पौडेल, प्रेस संगठन नेपाल रुपन्देही संयोजक कमल रायमाझी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, डब्ल्यु डब्ल्यु जे रूपन्देही अध्यक्ष कल्पना तिवारी, जन पत्रकार संगठन रूपन्देही अध्यक्ष शिव डुम्रे, प्रगतिशिल पत्रकार संघ रूपन्देही सचिव डिआर बन्जाडे, संसदीय मामिला पत्रकार समाज लुम्बिनी अध्यक्ष बिष्णु घिमिरे लगायतले बोल्दै पत्रकार महासंघले पत्रकारको हकहितलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभएको थियो ।
पदस्थापना कार्यक्रममा निवर्तमान अध्यक्ष जिसीले नवनिर्वाचित अध्यक्ष पोखरेल तथा निवर्तमान सचिव रामप्रसाद आचार्यले नवनिर्वाचित सचिव विनोद परियारलाई पद हस्तान्तरण गर्नुभएको थियो ।