बुटवल, १ बैशाख । होटल व्यवसाय गर्ने व्यवसायीलाई पर्यटन व्यवसायीका रुपमा मान्यता दिलाउन प्रदेश सरकारलाई पर्यटन कानुन वनाउन होटल ब्यवसायीहरुले माग गरेका छन् ।
पर्यटन ऐन २०३५ अनुसार थ्री स्टार होटल भन्दा तल्लो स्तरका होटल व्यवसायीे पर्यटन व्यवसायीको मान्यतामा नपर्ने भएकाले ती व्यवसायीलाई पर्यटन व्यवसायीका रुपमा स्थापित गर्न सरकारले कानुन निर्माण गर्न जरुरी रहेको उनीहरुले औल्याएका छन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा वोल्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले सरकारको पर्यटन नीति भित्र व्यवसायीलाई छिराउनका लागि पनि कानुन जरुरी रहेको बताउनु भयो ।
थ्री स्टार लेवल भन्दा कमका व्यवसायीको लगानी सुरक्षित गर्न र उनीहरुलाई सरकारवाट पाउने सेवासुविधाका लागि पनि अनिवार्य पर्यटन कार्यालयमा दर्ता हुनुपर्ने र सो सम्वन्धि कानुन प्रदेश सरकारले नवनाएकाले तत्काल कानुन निर्माणका लागि प्रदेश सरकारलाई जिम्मेवार हुन अध्यक्ष शाहले आग्रह गर्नुभयो । कोभिडले थलापरेको व्यवसायलाई राज्यले दिने राहतका कार्यक्रम पाउनका लागि पनि पर्यटन कार्यालयमा व्यवसाय दर्ता हुनुपर्ने प्रावधान रहेको र कानुनको अभावमा होटल व्यवसाय स्थानिय तहमा दर्ता हुन नसकेको र जसका कारण सुबिधावाट बन्चित हुनु परेको अध्यक्ष शाहले बताउनु भयो । पर्यटन कार्यालमा दर्ता नभएका व्यवसायीले सरकारले उपलब्ध गराएको विद्युतको डिमाण्ड चार्ज छुट पनि नपाउने, कोभिडको मारमा परेकालाई उपलब्ध गराउने सुबिधा पनि नपाउने र भाडाको घरमा व्यवसाय संचालन गरेका व्यवसायीले बैक तथा वित्तिय संस्थावाट सो व्यवसाय देखाएर ऋण लिन समेत समस्या भएको उहाँले गुनासो गर्नु भयो ।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष माधव नेपालले कोभिडले थला पारेर व्यवसायनै धरापमा परेको कारण केही व्यवसायी पेशावाटै पलाएन भएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश मुलुककै मध्यभागमा रहेको र केन्द्र प्रदेश र जिल्लाबिच सकारात्मक सोचका साथ अगाडी बढ्न जरुरी रहेको धारणा राख्नु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायी महासंघका सह कोषाध्यक्ष मोदनाथ वेलवासे, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, पर्यटन उपाध्यक्ष समुन्द्र जिसी, संघका वरिष्ठ उपाध्यक्ष वावुराम गौतम, महासचिव माधवकुमार खनाल, सचिव अर्जुन थापालगायतले कोभिडले व्यवसाय समस्यामा परेको गुनासो गर्नु भयो । त्यस अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नुको साथै संघले प्रकाशन गरेको नयाँ वर्ष २०७८ को भित्ते पात्रो सार्वजनिक गरिएको थियो ।