तिलोत्तमा, ३१ चैत । नेपालमा पुनः कोरोना भाईरस (कोभिड १९)को संक्रमण बढ्दै गएपछि लकडाउनको विषयमा चर्चा चलिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उद्योगी व्यबसायीले त्यस्तो निर्णय नलिन सरकारलाई आग्रह गरेका छन् ।
स्वास्थ्य प्रति सबै सचेत भने रहनु पर्ने भन्दै उनीहरुले आफूहरु सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालनाको लागि तयार रहेको बताएका छन् । रुपन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघले मंगलबार संघको सभाहलमा आयोजना गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान तथा संघले प्रकाशन गरेको भित्त पात्रो विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले संघ, प्रदेश तथा स्थानीय सरकारले लिने सुझाव सल्लाहमा संस्थाको तर्फबाट दरिलो अडान राख्न समेत नेतृत्वलाई आग्रह गरेका छन् ।
कार्यक्रममा संघका सल्लाहकार वेदप्रसाद कंडेलले कोरोना भाईरस महामारीमा गरिएको लकडाउनको कारण उद्योग, व्यापार व्यबसाय धाराशायी भएको उल्लेख गर्दै अब पनि लकडाउन भयो भने उद्योग धन्दा सधैको लागि बन्द गर्नुपर्ने स्थिति आउने बताउनुभयो ।
संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)को अध्यक्षतामा भएको कार्यक्रमा सल्लाहकारहरु नवराज श्रेष्ठ, चन्द्रमान श्रेष्ठ, पशुपति घिमिरे, मानार्थ सदस्य बसन्त रोका, पत्रकार खिमानन्द भट्टराई, संघका महासचिव कमल कंडेल, कोषाध्यक्ष तथा क्यालेण्डर प्रकाशन समितिका संयोजक सुरज पंगेनी लगायतले बोल्दै कोरोना भाईरसको संक्रमण फैलिन नदिनको लागि लकडाउनलाई अन्तिम विकल्प नबनाउन र सरकारले लकडाउन नै गर्ने हो भने उद्योगी व्यबसायीलाई क्षतीपूर्ति सहित बैंक व्याज मिनाहा गरिदिनुपर्ने धारणा राख्नुभएको थियो ।
त्यस अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नुको साथै संघले प्रकाशन गरेको नयाँ वर्ष २०७८ को भित्ते पात्रो सार्वजनिक गरिएको थियो । त्यस्तै संस्थाका अध्यक्ष भण्डारी नेपाली काँग्रेस केन्द्रीय नीति तथा अनुसन्धान विभाग अन्तरगत उद्योग व्यबसाय विज्ञको रुपमा मनोनित हुनु भएकोमा संस्थाको तर्फवाट बधाई प्रस्ताव समेत पारित गरिएको थियो ।