कमल रायमाझी
भैरहवा, ३० चैत । रुपन्देहीको सिद्धार्थ नगरपालिको भैरहवा क्षेत्रमा रहेका धेरैजसो सुन चाँदी पसलहरु सरकारी नियम विपरित सञ्चालन भएको पाईएको छ ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकाको भैरहवामा रहेका सुनचाँदी पसलहरुको आज गरेको अनुगमनका क्रममा धेरै जसो पसलहरु नियम विपरित सञ्चालन भएको पाईएको हो ।
भैरहवा बजारको गल्लामण्डी र बैंक रोडमा गरिएको अनुगमनका क्रममा धेरै पसलहरु सरकारी नियम विपरित सञ्चालन भएको पाईएको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निरिक्षक अधिकृत मित्रलाल ढकालले जानकारी दिनुभयो ।
अनुगमन टोलिका सदस्यहरुका अनुसार अनुगमनका क्रममा कति पसलका ब्यवसायीहरु सटर बन्द गरेर भागेका थिए भने कतिपयले पसलमा भएको सुनचाँदी लुकाएर व्यापार गर्न सामान नभएको भनेर अनुगमन टोलीलाई झुक्काउने काम गरेका थिए ।
अनुगमनका क्रममा केही सुन चाँदी पसलमा मुल्यसूची नराखेको, तौल मेसिन नविकरण नगरेको, तौल कम गराउने मेसिन राखेको, विल विजक नभएको पाईएको अनुगमन टोलीले बताएको छ । विल विजक प्रयोग नगरेको भेटिएपछि अनुगमन टोलीले संगम सुनचाँदी पसल गल्लामण्डीलाई अनुगमनकै क्रममा रु. पाँच हजार जरिवाना समेत गरेको छ ।
यस्तै सरकारले तोकेको सवै मापदण्ड अनुसार सञ्चालनमा रहेको वजरंगी ज्वेलर्स गल्लामण्डीलाई अनुगमन टोलीले प्रशंसा समेत गरेको थियो ।
अनुगमनका क्रममा धेरै सुनचाँदी पसलहरु नियम विपरित सञ्चालनमा रहेको पाईयो भने केहि पसलहरु सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालनमा रहेका अनुगमन टोलीले जानकारी दिएको छ । आज पंकज ज्वेलर्स, रक्षा श्रेया सुनचाँदी पसल, सोनी ज्वेलर्स, वजरंगी ज्वेलर्स, एस.एम ज्वेलर्स, संगम सुनचाँदी पसल लगाएतमा अनुगमन भएको थियो । यस्ता अनुगमन अव निरन्तर हुने उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले जनाएको छ ।
उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निरिक्षक अधिकृत मित्रलाल ढकालको संयोजकत्वमा नगरका १० वटा सुनचाँदी पसलहरुको अनुगमन भएको थियो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रतिनिधि बालकृष्ण आचार्य, गुणस्तर तथा नापतौल कार्यालय बुटवलका प्रकाश बस्नेत, बोधराज ढकाल, उपभोक्ता मंचका भगवती भण्डारी, सिद्धार्थ उद्योग बाणिज्य संघका मंगल भण्डारी, निर्देशनालयका राज कुमार घिमिरे, लगायतको सहभागिता रहेको थियो ।