बुटवल, ३० चैत । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) बुटवल नगर समितिले कार्य क्षेत्रमा निधन भएका मजदुरको परिवारलाई राहत प्रदान गरेको छ । काउन बुटवल समितिमा आवद्ध मजदुर पाल्पाकी वेनिमायाँ बरालको २ महिना अगाडि बालुवा चाल्ने क्रममा सर्पले डसेर निधन भएको थियो । मजदुरको निधनमा १ लाख रुपैंया राहत र १७ हजार रुपैयाँ क्रिया खर्च उपलब्ध गराउने संस्थाको नीति अनुसार मृतकका छोरा न्यूरन र छोरी निर्जना बराललाई उक्त रकमको चेक समितिका तर्फबाट प्रदान गरिएको हो ।
नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान तथा काउन बुटवल नगर समितिले प्रकाशन गरेको नयाँ बर्षको क्यालेण्डर विमोचन कार्यक्रममा काउनका राष्ट्रिय अध्यक्ष जेवि गुरुङ्, उपाध्यक्ष ओम प्रकाश चौधरी, रुपन्देही जिल्ला अध्यक्ष बिरबहादुर लामा, बुटवल नगर समितिका अध्यक्ष सूर्यदेव दासले राहत र किरिया खर्च वापतको रकम प्रदान गर्नुभएको हो ।
सो अवसरमा बोल्दै काउन केन्द्रीय अध्यक्ष गुरुङ्ले कोरोना महामारीले असंगठित क्षेत्रका मजदुरलाई बढी पीडित बनाएको बताउँदै त्यस्तो विषम परिस्थितिमा पनि काउनले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले कोरोना महामारीको समयमा काउनले देशभर समस्यामा परेका मजदुरहरुलाई ५२ लाख रुपैंया भन्दा बढीको राहत वितरण गरेको बताउनु भयो । बुटवल काउनले पनि कोरोना कहरका बेला समस्यामा परेका धेरै मजदुरहरुलाई राहत वितरण गरेर निकै स्रहानीय काम गरेको उहांले उल्लेख गर्नुभयो ।
मजदुरको हक हितमा काम गर्ने संघ संगठनले वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु पर्नेमा जोड दिदै राहत रकम दुरुपयोग हुने काम कोही कसैले गर्नु नहुने उहांले बताउनु भयो ।
सो अवसरमा काउनका राष्ट्रिय उपाध्यक्ष ओम प्रकाश चौधरी, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्णप्रसाद वेलवासे, जिल्ला अध्यक्ष बिरबहादुर लामा, पत्रकार खिमानन्द भट्टराई, काउन बुटवल नगर उपाध्यक्ष भागमनी चौधरी, सचिव तिलबहादुर हिस्की लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
