बुटवल, २८ चैत । बुटवल उपमहानगरपालिका वार्ड नम्वर ४ स्थित लक्ष्मीपार्कलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिवद्वता जनाएका छन् । चुरे पहाडको काखमा रहेको लक्ष्मीनगरको विकासले समग्र बुटवलको गरिमालाई उचो राख्ने उनीहरुको भनाइ छ । बुटवलको शिरमा रहेको लक्ष्मीनगर हरेक प्रकारले महत्वपूर्ण रहेकाले पर्यटकलाई आकर्षित गर्नेगरी विकासका लागि सबैले सामूहिक प्रतिवद्वता जनाएका हुन् ।
शनिबार सम्पन्न बुटवल लक्ष्मीपार्कको दोस्रो साधारण सभामा बोल्ने सरोकारवालाहरुले बुटवलका सबै पार्कहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । लक्ष्मीनगर प्रकृतिको धनी भएकाले भौतिक विकास गर्नुको विकल्प नभएको उनीहरुको भनाई छ । मानिसलाई तनावमुक्त गर्ने स्थलका रुपमा बुटवल लक्ष्मीपार्कको विकासका लागि सबै तहका सरकारले वजेटको ब्यवस्थापन गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । लक्ष्मीपार्कको विकास र पहिरोका कारण जोखिममा रहेको लक्ष्मीनगरको वस्तीलाई सुरक्षित बनाउनका लागि वजेटको अभाव भएकाले तीनै तहका सरकारसंग स्थानीय अगुवाले बजेटको माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल वडा नम्बर ४ का वडाध्यक्ष टंक प्रसाद पराजुलीले लक्ष्मीनगरको समग्र विकासका लागि वजेटको कमी हुन नदिने प्रतिवद्वता जनाउनुभयो । आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्मीनगर ल्याउन सम्भव रहेकाले बुटवल लक्ष्मीपार्क र समग्र लक्ष्मीनगरको विकास आवश्यक रहेकोमा उहांले जोड दिनुभयो । वडा नम्बर ६ का वडाध्यक्ष जगदिशचन्द्र आचार्यले समग्र लक्ष्मीनगरको विकास गर्न सामूहिक रुपमा लाग्न आग्रह गर्दै आवश्यक वजेट व्यवस्थापनका लागि जनप्रतिनिधिको तर्फबाट पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थीले बुटवल लक्ष्मीपार्कको विकाससंगै लक्ष्मीनगरको भौतिक, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, वातावरण तथा सरसफाईंको उचित व्यवस्थापनका लागि सबैले आआफ्नो ठाउंबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । बुटवल लक्ष्मीपार्कका अध्यक्ष बाबुराम ढकालले समयको माग अनुसार बुटवल लक्ष्मी पार्कको उचित व्यवस्थापन र विकास गर्नुनै लक्ष्मीपार्क समितिको मुख्य काम भएकाले सोही अनुसार कामहरु भैरहेको बताउनुभयो । कार्यक्रममा विप्लव नेतृत्व नेकपाका शरद ओली, यातायात व्यवसायी अर्जुन रानाभाट, गणेश घिमिरे, दुर्गाप्रसाद शर्मा लगायतले बोल्दै बुटवल लक्ष्मीपार्कको विकासमा सामूहिक प्रतिवद्वता जनाउनु पर्नेमा जोड दिनुभयो । बुटवल लक्ष्मीपार्कका अध्यक्ष बाबुराम ढकालको अध्यक्षतामा भएको कार्यक्रम सचिव परमानन्द भट्टराईको सञ्चालनमा भएको थियो । सो अवसरमा लक्ष्मीपार्कका २२९ जना आजिवन सदस्यलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
